१५ वैशाख २०८१, शनिवार

सडक कविता

यतिबेला म बाटामा छु

२९ माघ २०७९, आइतवार
Image

(सन्तोष आचार्यको परिचय पत्रकारिता, राजनीति र साहित्य जता खोजे पनि पाइन्छ । सदावहार आन्दोलनकारी जस्तो जुझारु छवि बोकेको एउटा सचेत मान्छेको रुपमा उहाँ जहिल्यै भुइँमान्छेहरुको पक्षमा उभिनुहुन्छ । विचार र अनुभूतिहरुको सँगालो ‘रिडर्स गफ’का सर्जक उहाँको कलमले शब्द शब्दमा विद्रोहको राँको बालेको जस्तो लाग्छ पाठकलाई । प्रेस चौतारी नेपालको वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकमा सहभागी हुन जाँदै गर्दा बाटामै लेख्नु भएको कविता प्रस्तुत छ ।-सम्पादक)

यतिबेला म बाटामा छु
सन्तोष आचार्य

बाटामा छु अर्थात अलपत्रमा छु
बाटामा छु अर्थात अलकत्रमा छु
बाटामा छु अर्थात खत्रामा छु
बाटामा छु अर्थात जात्रामा छु
बाटामा छु अर्थात यात्रामा छु ।
मान्छे किन बाटामा आउँछ ?

जब जब म बाटामा हुन्छु
तब तब मलाई लाग्छ कि यो बाटो कसले बनायो ?
मान्छेले बाटो बनायो कि बाटाले मान्छे बनाए ?
जब  कसैको तरक्कीकाे कुरा आउँछ
मान्छे बाटो नै खोजिरहेकाे भेटिन्छ । 

मैले कयौ बाटाहरुले मानिस पर्खिरहेको पनि देखेको छु
बाटाका बिरक्तीका कयौं कथा व्यथा लेखेको छु ।
लाटाको खुट्टो त एक दिन बाटामा पर्छ भन्छन्
खुट्टो नभएकाहरुले समेत बाटो भेटेका छन् ।
बाटोलाई खुट्टो हुनु नहुनुसँग साइनो सम्बन्ध छैन ।।
कोहि कतै नहिडेको भूईमाटोलाई बाटो भनिदैन  ।
जीवनमा बाटो नभेटेर रनभुल्लमा परेको मनुवा भन्दा
खुट्टो नभेटेर जंगल भएका बाटाहरु धेरै छन् ।  

बाटाका लागि मान्छे मात्र होइन,
मान्छेका लागि बाटाहरु पनि  प्रतिक्षामा छन् । 
अझै मानिसहरु बाटा नभेटेर भौतारिरहेका छन् ।
गजब छ यो मान्छे र बाटोको सम्बन्ध !
अर्थात मेरो र यात्राको सम्बन्ध !
बाटाको माया हो कि मायाको बाटोले हो !
आज फेरि म यात्रामा छु अर्थात बाटामा छु । 

ठेगान हराएर अलपत्र परेकाे मान्छे
अलकत्र खोज्दै बाटाबीचमा उभिए पछि
जीवन हराएर सधैं खत्रामा परेकाे मान्छे
अनायासै जात्रैजात्रामा रुमलिए पछि
मान्छे र बाटोको सम्बन्ध द्वन्द्वात्मक बन्छ ।
कि मान्छेले बाटो समाउँछ कि बाटोले मान्छे सिध्याउँछ ।
जब यात्राका लागि मान्छे तयार हुन्छ,
जोखिमको सामना गर्न संकल्प सहित मुठ्ठी कस्छ ।
अनि जात्रालाई यात्रामा र बाटोलाई माटोमा बुझ्छ । 
बाटोको माटोमा मायाको रोमाञ्चकता थपिए पछि
सबै खाले खत्रालाई मात दिदै जीवनमा उत्साह भरिन्छ ।
अनि यसरी नै जीवनको बाटो खनिन्छ र  अघि बढ्छ ।
जसरी म आज बाटा छु अर्थात उत्साहमा छु ।
बाटामा छु अर्थात जिवन्ततामा छु ।

बाटाको मायाले हो या मायाको बाटाले हो ।
यतिबेला म बाटामा छु, अर्थात आफ्नै माटामा छु ।
अविरल, अवच्छिन्न, अनवरत, निरन्तरतामा छु ।
त्यसैले त म सधैं बाटामै हुन्छु । 

(२०७९/१०/२८ गते)