८ वैशाख २०८१, शनिवार

वर्ष–उत्कृष्ट कृतिको रुपमा ‘महाभारा’ पुरस्कृत

७ फागुन २०७९, आइतवार
Image

बिर्तामोड,  फागुन । पत्रकार बसन्त बस्नेतको ‘महाभारा’ उपन्यास यसवर्षको उत्कृष्ट कृतिको रुपमा पुरस्कृत भएको छ ।

कृतिका स्रष्टा बस्नेतलाई जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले शनिवार एक समारोहबीच २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।

२०७८ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये ‘महाभारा’ उपन्यासलाई पुरस्कृत गरिएको हो । सोही समारोहमा कोषले अन्य तीन प्रतिभालाई समेत पुरस्कृत गरेको छ ।

विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य, पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत हुनु भएको छ । फरक क्षमताको प्रतिभाको रुपमा विराटपोखर निवासी चन्द्रप्रसाद भट्टराई सम्मानित हुनुभएको छ । उहाँलाई ११ हजार रुपैयाँ पुरस्कार दिइएको हो । 

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा साहित्यकार कोमल पोखरेलको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।