१६ चैत २०८०, शुक्रवार

पार्टीले वेवास्ता गरेको जनाउँदै श्रेष्ठद्वारा एमाले परित्याग

१९ फागुन २०७९, शुक्रवार
Image

झापा, १९ फागुन । नेकपा एमाले झापा जिल्ला कमिटी उपसचिव तथा भद्रपुर नगरपालिकाकी पूर्व उपमेयर चन्द्रा श्रेष्ठले पार्टी त्याग्नु भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले तत्काल अर्को कुनै पार्टीमा नजाने समेत बताउनुभएको छ ।

उहाँसँगै बाह्रदशीका प्रदेश सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, हलोदिन मिया र रहिम मियाले पनि एमाले परित्याग गर्नुभएको छ ।

उहाँहरुले झापा क्षेत्र नं. ३ मा राप्रपासँग तालमेल गरेको विषयमा असन्तुष्टि जनाउँदै एमाले कार्यकर्ताहरु राप्रपाबाट दमित भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

आफुलाई पार्टी बैठकमा नबोलाइएको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

उपमेयरको एक कार्यकाल पूरा गर्नुभएको श्रेष्ठ गत स्थानीय तहको चुनावमा मेयर पदको उम्मेद्वार बन्न चाहनुहुन्थ्यो । तर एमालेले असारु राजबंशीलाई मेयरको उम्मेद्वार बनाएपछि उहाँ पार्टी नेतृत्वसँग असन्तुष्ट हुनुहुन्थ्यो ।

हालै सम्पन्न संसदीय चुनावमा झापा ३ मा श्रेष्ठले पार्टीका आधिकारिक र समर्थन गरेका उम्मेद्वारका विरुद्ध गतिविधि गरेको आरोप लागेको थियो ।

सोही आरोपमा पार्टीले उहाँलाई दुई वर्ष जिम्मेवारीबाट निलम्बन गरेको थियो ।