२३ भदौ २०८१, आइतवार

पाउ पाथीभरा मन्दिरमा पुराण हुने

२३ फागुन २०७९, मङ्गलवार
Image

मेचीनगर, २३ फागुन । चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । 

आगामी चैत ८ गतेदेखि १६ गतेसम्म श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताए । 

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यले महापुराणको आयोजना गर्न लागिएको उनले बताए । 

पुराणको समुद्घाटन सभामुख देवराज घिमिरेले गर्ने भएका छन् । महायज्ञमा आचार्य पण्डित शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पण्डित पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उपसमितिका संयोजक यामनाथ बरालले बताए ।

उद्घाटनका दिन शोभा कलशयात्रा, मण्डव पुजन, पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित कार्यक्रम राखिएको छ । चैत ९ गतेदेखि १६ गतेसम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । झापा लगायत अन्य जिल्लाबाट आउने भक्तजनहरुलाई व्यवस्थापनसहित पुराण आयोजनाका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

पुराण आयोजना साथै सो विषयमा विभिन्न माध्यमबाट भक्तजनसम्म जानकारी पुराउने उद्देश्यले प्रचार प्रसारका लागि विशेष ध्यान दिन प्रचारप्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए । 

चारआली स्थित नेपाली सैनिकको ब्यारक उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको धामका संस्थापक अध्यक्ष हरिचरण बानियाँले बताए ।

सो ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ ।  त्यस्तै अर्को तथ्य कुरा यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको उनको भनाई छ । 

उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिइने गरिन्छ । 

यस बर्षको महायज्ञमा २० हजार भन्दा बढी भक्तजन आउँने अनुमान गरिएको आयोजकको भनाई छ ।