१२ चैत २०७९, आइतवार

हाम्रो जग्गा अरुलाई दर्ता मान्य हुँदैन : काँकरभिट्टा क्याम्पस

२५ फागुन २०७९, बिहिवार
Image

मेचीनगर, २५ फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसले आफ्नो भोगाधिकारभित्रको जग्गा भानु साहित्यिक प्रतिष्ठानको नाममा दर्ता नगराउन माग गरेको छ ।

मेचीनगर वडा नं. ६ को सतिघट्टा रोडमा रहेको १५ कठ्ठा जग्गामा क्याम्पस र प्रतिष्ठान दुबैको भौतिक संरचना छन् ।

क्याम्पसले आज मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै प्रतिष्ठानको नाममा जग्गा दर्ता गर्ने कुनै पनि कार्य अमान्य हुने जनाएको छ ।

क्याम्पसको भोगाधिकार र घेराबेराभित्र रहेको जग्गामा प्रतिष्ठानलाई कार्यालय भवन र आदिकवि भानुभक्तको शालिक बनाउन अस्थायी सहमति मात्र दिइएको उल्लेख गर्दै क्याम्पसले बुझाएको ज्ञापन पत्रमा सो जग्गा क्याम्पसकै नाममा दर्ता हुनुपर्ने भनिएको छ ।

क्याम्पसका अध्यक्ष कमल थापा र क्याम्पस प्रमुख लक्ष्मी उप्रेतीले नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत होमप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

‘क्याम्पसको अधिकार र घेराबेराभित्रको जग्गा अरु कसैलाई दर्ता गरिदिने कार्य अमान्य हुने कुरा हामीले ज्ञापन पत्र बुझाउँदै भनेका छौं,’ क्याम्पस प्रमुख उप्रेतीले भन्नुभयो–‘मेयरले हाम्रो माग सुनिसकेपछि अहिले कुनै निर्णयमा नगरपालिका नपुगिसकेको बताउँदै कार्यपालिकाले उचित निर्णय लिने बताउनुभयो ।’

मेयर बुढाथोकी क्याम्पसको माग बारेमा सकारात्मक रहनु भएको उप्रेतीले दावी गर्नुभयो । जग्गा प्राप्ति गर्नेहरुको सूची फेसबुकमा लेखेको पाइएपछि प्रतिष्ठानको नाममा क्याम्पसको जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी पाएको समेत उहाँले बताउनुभयो ।