१२ साउन २०८१, शनिवार

धुलाबारी खानेपानीको सभा सकियो, चुनाव चैत १८ गते

२७ फागुन २०७९, शनिवार
Image

मेचीनगर, २७ फागुन । धुलाबारी खानेपानी उपभोक्ता समितिको २२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । 

धुलाबारी स्थित पासाङ्ल्वामु जेसिज प्रतिष्ठानमा आयोजित साधारण सभाको उद्घाटन् झापा–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि शर्मा, प्रदेश १ की सांसद सविना बजगाईँ, धुलाबारी खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष राम कट्टेल, नेपाली काँग्रेसका मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमालेका नगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा खानेपानीलाई जग्गा प्रदान गर्ने जग्गादाता केदारनाथ भट्टराई, माथिल्लो मागुरमाडी वन उपभोक्ता समिति बिट नम्बर २ तथा जग्गादाता स्व.नवलकिशोर राईलाई सम्मान गरिएको थियो । स्व. राईको सम्मान उनका छोरा विष्णु राईलाई प्रदान गरिएको थियो । 

कार्यक्रममा अध्यक्ष घिमिरेले आगामी योजना सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

२०५२ सालमा एसियाली विकास बैंक र जाइका नेपालको ४५ करोड अनुदान सहयोगमा निर्माण सम्पन्न भई उपभोक्तालाई शुद्ध र स्वच्छ पिउने पानी उपलब्ध गराउँदै आइरहेको धुलाबारी खानेपानी उपभोक्ता समितिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दीर्घकालिन रुपमा खानेपानीको श्रोत व्यवस्थापनमा लागेको र हालै मात्र मेचीनगर–९ मा रहेको माथिल्लो मागुरमाडी खानेपानी संस्थालाई धुलाबारी खानेपानीमा मर्ज गरेको तथा खानेपानी वितरणलाई प्रभावकारी बनाउँदै लगिने लगायत धेरै विषयवस्तु अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । 

धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष चेतराज विष्ट (चेतन) ले गरेका थिए ।