१२ साउन २०८१, शनिवार

मैत्री पूजामा कोशी प्रदेशका नौ जिल्लाबाट सहभागी आउँदै

३ चैत २०७९, शुक्रवार
Image

सांकेतिक तस्वीर 

मेचीनगर, ३ चैत । मेचीनगर–६ को काँकरभिट्टामा बोधी श्रवण धर्म संघ झापाको आयोजनामा हुन लागेको त्रि–दिवसीय मैत्री पूजाको तयारी भइरहेको छ ।

आयोजक पक्षले आज पत्रकार सम्मेलन गरी काँकरभिट्टाको कालीखोला (रमाइलो गाउँ)स्थित बालहरि राईको जग्गामा पूजाको कार्यक्रमस्थल रहने जानकारी दिएको छ । 

संघका केन्द्रीय सदस्य फुर्वा तामाङले महासम्बोधी धर्मगुरुले तपस्या र साधना सुरु गरेको १८ वर्ष पुगेको अवसरमा देशभर चैत ८ देखि १० गतेसम्म मैत्री पूजा सञ्चालन गरिने बताउनुभयो । 

काँकरभिट्टाको पूजामा कोशी प्रदेशका नौ जिल्ला र भारतको दार्जीलिङ र सिक्किमका अनुयायीहरुको भब्य सहभागिता रहने उहाँले बताउनुभयो ।

पूजा हुने कार्यक्रमस्थल सम्याएर टेन्ट र पण्डाल लगाउने कार्य सुरु भइसकेको छ । कार्यक्रममा संघका केन्द्रीय प्रवक्ता र २१ जना बोधी महात्माहरुले अनुष्ठान सञ्चालन गर्नुहुने भएको छ ।

धर्मप्रेमी पाहुनाहरुलाई खान र बस्नका लागि स्थानीयसँग सहयोग लिइने र धार्मिक लाभ लिनका लागि जनसमुदायलाई अनुरोध गरिने संघका केन्द्रीय सदस्य तामाङले बताउनुभयो ।