झापा, २४ चैत । नेपालमा रासायनिक मलको हाहाकार नभएको कुनै वर्ष छैन । किसानहरुले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् । सरकारले उपलब्ध गराउने मल वितरणमा पनि किसानको लामो लाइन लाग्ने गर्छ ।
यसको मुख्य जड नै रासायनिक मलमा मुलुक पूणर् रुपमा परनिर्भर हुनु हो । किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन नसकिने अवस्था हरेक सरकारको असफलताको मापन बन्ने गरेको छ । तर, प्रयास गर्ने हो भने मुलुकमै रासायनिक मलको खपत घटाएर जैविक मलमा आत्मनिर्भर बन्न सकिने सम्भावना छ ।
मल अभावको यतिधेरै सकस भोग्नु परिरहेका बेला झापाका किसानहरुले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ ।
रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न, माटोको उर्वरा शक्ति प्राकृतिक माध्यमबाटै वृद्धि गर्न र कृषि उत्पादनलाई विषादीमुक्त बनाउन भारतका कृषि वैज्ञानिक डा. कृष्णचन्द्रले अनुसन्धानमार्फत प्रयोगमा ल्याएको ‘वेस्ट डिकम्पोजर’ प्रविधिलाई अनुकरण गर्दै अभियानका रुपमा प्रयोगमा ल्याइएको सुनगाभा अर्गानिक कृषि फार्मका सञ्चालक भीम कुँवर बताउनुहुन्छ ।
“रासायनिक मलको विकल्प खोज्न ढिला भइसक्यो, आफ्नै स्रोत र साधनमा आधारित जैविक मल बनाउन सरकारले पनि प्रोत्साहित गर्नुपर्छ,” जैविक मल बनाउने र प्रयोगमा ल्याउने अभियानमा समर्पित कुँवर भन्नुहुन्छ-“वेस्ट डिकम्पोजर यस्तो विधि हो जसलाई प्रयोगमा ल्याउँदा हाम्रो मुलुकमा एकातिर अग्र्यानिक कृषि क्रान्ति हुन्छ भने रासायनिक मलको नाममा वर्षेनी विदेशिने अर्बौ रुपैयाँ जोगिन्छ ।”
नेपालमा जैविक मलको विषयमा चर्चा नभएको होइन । वर्षौदेखि यसका लागि प्रयास भइरहे तापनि रासायनिक मलको निर्भरता झन् बढ्दो अवस्थामा छ । रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको उर्वराशक्ति ह्रास भइरहेको र कृषिका लागि आवश्यक पर्ने शुक्ष्म जीवहरुको नाश भइरहेको जैविक मलका अभियन्ताहरु बताउँछन् ।
“माटोमा जभावावी रासायनिक मलको प्रयोग हानिकारक हुन्छ, यसलाई न्यूनीकरण गर्ने वा प्रतिस्थापन गर्ने सबैभन्दा सजिलो उपाय नै जैविक मलको उत्पादन हो”- जैविक मलका अभियन्ता कुँवर भन्नुहुन्छ । वेस्ट डिकम्पोजर प्रविधिबाट उत्पादित मलले रासायनिक मलको प्रयोगले भन्दा दुगुना उत्पादन दिने भएकाले किसानका लागि यो बरदान सावित भइरहेको उहाँको अनुभव छ ।
के हो ‘वेस्ट डिकम्पोजर’ प्रविधि ?
भारतीय सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जैविक खेती केन्द्रका पूर्व निर्देशक एवम् कृषि वैज्ञानिक डा. कृष्णचन्द्रले बेद र कृषि विज्ञानको गहिरो अध्ययनपछि जैविक मल बनाउन ‘वेस्ट डिकम्पोजर’ प्रविधि पत्ता लगाएको अभियन्ता कुँवर दावी गर्नुहुन्छ ।
उहाँका अनुसार जुरो भएको भारतीय रैथाने गाईको गोबर र गहुतमा रहेको ८५ वटा ब्याक्टेरिया प्रयोगशालामा मिसाएर डा. कृष्णचन्द्रले ‘वेस्ट डिकम्पोजर’ झोल बनाउनु भएको थियो । जसमा शरीरमा नष्ट हुन लागेको कोशिकाहरुलाई पुनःजागृत गर्ने क्षमता भएको व्याक्टेरिया पनि सम्मिश्रण गरिएको उहाँले बताउनुभयो ।
राइजोरियम, एजोटोब्याक्ट्रोल, एजोस्पिरिजम लगायतका ८५ प्रकारका व्याक्टेरियाको सम्मिश्रण झोल नै ‘वेस्ट डिकम्पोजर’ हो । जसलाई दही बनाउन जोडन प्रयोग गरिए झैं जैविक मल बनाउन बीऊ र मलको रुपमा प्रयोग हुँदै आएको छ । माटोलाई चाहिने शुक्ष्म जीवहरु र बोट विरुवालाई हुर्किन र फल्न हावा र मलमा पाइने तत्वहरुलाई खानयोग्य बनाउने जीवाणुहरुको घर नै ‘वेस्ट डिकम्पोजर’ हो ।
कुँवरका अनुसार २०० लिटर झोल मल बनाउन ५० एमएल बीऊ ‘वेस्ट डिकम्पोजर’मा दुई केजी सख्खर मिसाएर कम्तीमा सात दिन बिर्को बन्द गरी ड्रममा राखिन्छ । त्यही झोलमा ब्याक्टेरिया फैलिएर जैविक गुणयुक्त मल निर्माण हुन्छ । यो मलमा नाइट्रोजन, फस्फोरस लगायतका तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । उहाँले बनाउनु मललाई ‘अमृत मल’ नामाकरण गर्नुभएको छ ।
उक्त मललाई एक कठ्ठा खेतमा २०० लिटरका दरले सिञ्चाई गरिन्छ । सिञ्चाईको पानीमा मललाई मिसाएर खेतमा मिसाउने पनि चलन छ । सोझै बालीविरुवामा स्प्रे गरेर समेत यो जैविक मल प्रयोग गर्न सकिने उहाँको भनाई छ । यो विधिबाट उत्पादित तरकारी तथा फलफूल स्वादिलो र विषादीरहित हुने उहाँ बताउनुहुन्छ ।
विगत छ वर्षदेखि अर्गानिक कृषि अभियानमा सक्रिय कुँवर पञ्चायती शासनविरुद्ध आन्दोलन गर्ने क्रममा लामो अवधि कारागार बस्नुभएको थियो । उहाँ अहिले सक्रिय राजनीतिभन्दा अलग रहेर अर्गानिक कृषि अभियानमा लाग्नुभएको छ ।
भद्रपुर नगरपालिका वडा नं. १० मा रहेको उहाँको कृषि फार्ममा काउली, गाजर, बन्दा लगायतका तरकारी फलिरहेका छन् । उहाँको फार्मबाट इलाम, धनकुटा, मोरङ, पाँचथर लगायतका जिल्लाका सयौं किसानले ‘वेस्ट डिकम्पोजर’को तरल बिऊ लगिरहेका छन् भने उहाँले कृषि ज्ञान केन्द्र झापा र एनएमसी नमुना कृषि परियोजनामार्फत कृषकहरुलाई तालिम प्रदान गरिसक्नु भएको छ ।
पालिकाले बनायो ‘कमल मल’
‘वेस्ट डिकम्पोजर’ प्रविधिमा आधारित भएर किसानहरुलाई जैविक मलको प्रचलन गर्न प्रोत्साहित गर्ने पहिलो स्थानीय सरकार बनेको छ कमल गाउँपालिका । पालिकाले उत्पादित ‘वेस्ट डिकम्पोजर’ जैविक मललाई ‘कमल मल’को नाम दिएको छ ।
कमल गाउँपालिकाले ‘वेस्ट डिकम्पोजर’ प्रविधिमार्फत जैविक मल उत्पादन गरेर वि.सं. २०७६ देखि पालिकाका किसानहरुलाई निःशुल्क वितरण गरिरहेको पालिकाका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनुभयो ।
भारतमा कृषि तालिममा जाँदा ‘वेस्ट डिकम्पोजर’ प्रविधिको बारेमा जानेको शिपलाई पालिकामा प्रयोगमा ल्याउँदा खुशी लागेको उहाँले बताउनुभयो । गत वर्ष पालिकाले सातैवटा वडामा एक लाख लिटर जैविक झोल मल वितरण गरेको थियो ।
पालिकाले कमल प्रांगारिक मल, कमल युरिया, जीवामृत मल, घनजीवन मल र निमास्त्र उत्पादन गर्दै आएको छ । युरिया र घनजीवन मल बाहेक सबै जैविक मल बनाउँदा ‘वेस्ट डिकम्पोजर’को सूत्र प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
कृषि अनुसन्धान केन्द्र तरहरामा पालिकाले उत्पादन गरेको जैविक मलको ‘ट्रिटमेन्ट ट्रायल’ गराउँदा अन्य मलभन्दा चार गुणा ज्यादा प्रभावकारी पुष्टि भएको कृषि शाखाका प्रमुख बोहोराले बताउनुभयो । “‘वेस्ट डिकम्पोजर’ विधिबाट बनाइएको जैविक मलको गुणस्तर अरु मलको तुलनमा ज्यादै प्रभावकारी सावित भएपछि किसानहरु निकै आकर्षित हुनुभएको छ,” उहाँले भन्नुभयो-“हामी पालिकाका सबै किसानहरुलाई जैविक मल उपलब्ध गराउन चाहन्छौं ।”
कमल गाउँपालिकाका १५० किसानले बिगत तीन वर्षदेखि पूणर्रुपमा जैविक मलको प्रयोग गरिरहेको र यो क्रम आगामी दिनमा अझै बढेर जाने अनुमान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउनुहुन्छ । हाल पालिकाले दुई स्थानमा जैविक मल उत्पादन गर्ने उद्योग नै सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
सन्तुष्ट छन् किसानहरु
‘वेस्ट डिकम्पोजर’ मल प्रयोगबाट माटोको उपचार हुनुका साथै उत्पादन वृद्धि भएकोमा किसानहरु खुशी छन् । उनीहरु राज्यले रासायनिक मललाई प्रतिस्थापन गर्न जैविक मलको उत्पादन र प्रयोगलाई प्रोत्साहित गर्नु पर्ने बताउँछन् ।
मेचीनगर-१४ का किसान डिल्ली खतिवडाले तीन वर्ष अघि यु-ट्युबबाट अर्गानिक खेतीको अध्ययन गर्दै जाँदा ‘वेस्ट डिकम्पोजर’को बारेमा थाहा पाएको बताउनुभयो । उहाँको जागृत कृषि फार्म सञ्चालनमा रहेको छ ।
“मैले यही प्रविधिबाट अर्गानिक खेती गरिरहेको तीन वर्ष जति भयो,” उहाँले भन्नुभयो-“रासायनिक मलको जथाभावी प्रयोगले हाम्रो माटो बिरामी भइसकेको छ । ‘वेस्ट डिकम्पोजर’मा भएको व्याक्टेरियाले त्यो विरामी माटोको उपचार गरेर उर्वर बनाइदिदोरहेछ ।”
रासायनिक मलका व्यापारीको प्रभावमा परेर राज्य संयन्त्रले जैविक मलको प्रबर्धनमा कञ्जुँस्याइ गरिरहेको उहाँको आरोप छ । “रासायनिक मलको विकल्प हो भनेर हामी कराइरहेका छौं, राज्यको जिम्मेवार निकायले सुन्दै सुन्दैन”-उहाँ भन्नुहुन्छ ।
मेचीनगर-१२ का मञ्जुल मेचेले पनि ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल उत्पादन गरी कृषि फार्म सञ्चालन गर्दै आउनु भएको छ ।
दुई बिगाहा जग्गा भाडामा लिएर उहाँले सञ्चालन गर्दै आएको कृषि फार्ममा उत्पादन भएका तरकारी खरिद गर्न टाढादेखिका ग्राहकको हारालुछ हुने गरेको छ । एउटै बोटमा उहाँले १५ किलोसम्म टमाटर फलाउनु भएको छ ।
“म अर्गानिक उत्पादनमा आउनुभन्दा पहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्थेँ,” उहाँले अनुभव सुनाउँदै भन्नुभयो-“तर जब मैले ‘वेस्ट डिकम्पोजर’ प्रविधिको जैविक मल प्रयाग गर्न थालेँ । मेरो खेतीमा तरकारी बालीको उत्पादन दोब्बर बढ्यो ।”
रासायनिक मलको ज्यादा प्रयोगपछि माटोमा विषाक्तता बढेको हुँदा उक्त विषाक्तता हटाउन जैविक मलको विकल्प छैन । नेपालमा वर्षेनी सात लाख मेट्रिक टन युरिया मल आवश्यक हुन्छ भने अभाव नहुनेगरी वितरण गर्ने हो भने रु. ३० अर्ब रासायनिक मल खरिदमा विदेश पुग्छ ।
देशमा तत्काल रासायनिक मलको काराखाना खुल्ने सम्भावना न्यून भएको बेला राज्यले ‘वेस्ट डिकम्पोजर’ जस्ता जैविक मल बनाउने सरल, सस्तो र प्रभावकारी प्रविधिको प्रयोगमा कमल गाउँपालिकाले झैं जोड दिन आवश्यक भइसकेको छ ।---