२ कार्तिक २०८१, शुक्रवार

पत्रकारद्वय सावित्रा र शुष्मा नारी सञ्चार गृहबाट पुरस्कृत

६ वैशाख २०८०, बुधवार
Image

झापा, ६ वैशाख । अग्रज पत्रकार सावित्रा दाहाल नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।

नेपालकै पहिलो सम्पादक महिला स्व. साधना प्रधानको स्मृतिमा नारी सञ्चार गृहले मुलुककै सर्वाधिक नगद रहेको सो पुरस्कार स्थापना गरेको हो । पुरस्कारको नगदराशी रु. एक लाख एक हजार एक सय रहेको छ । 

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले आज एक कार्यक्रमबीच पुरस्कार वितरण गर्नुभयो । पत्रकार दाहालले जनज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गर्नु भएको थियो । पछि उहाँले जनसंसद्, पूर्वाञ्चल, लोकतन्त्र, पूर्व सन्देश लगायतका विभिन्न सञ्चारगृहमा पत्रकारिता गर्नुभयो ।

नारी सञ्चार गृहले स्थापना गरेको अर्को पुरस्कार ‘नारी सञ्चार युवा पत्रकारिता पुरस्कार’बाट मेचीनगरकी पत्रकार शुष्मा राजबंशी पुरस्कृत हुनुभएको छ । 

रेडियो साथीको प्रबन्ध निर्देशक राजबंशीलाई प्रदान गरिएको सो पुरस्कारको नगदराशी रु. २५ हजारको छ ।

कार्यक्रममा मन्त्री सिटौला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, पुरस्कृत प्रतिभा सावित्रा दाहाल, प्रजिअ शिवराम पोखरेल, गृहकी निवत्र्तमान अध्यक्ष भीमा शिवाकोटी, पूर्व अध्यक्ष अम्बिका भण्डारी, नवनिर्वाचित अध्यक्ष रेजिना रोदन लगायतले बोल्नु भएको थियो ।

नारी सञ्चार गृहको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई आज पद हस्तान्तरण समेत गरिएको छ ।