४ जेठ २०८१, शुक्रवार

बलात्कार आरोपी पक्राउ नपरेपछि पीडित पक्ष त्रासमा

११ वैशाख २०८०, सोमवार
Image

झापा, ११ वैशाख । गौरादह नगरपालिका वडा नं. ३ मा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् ।

पीडितकी माइजु सुनिता चौधरीले विगत पाँच महिनादेखि बालिकालाई मारिदिने डर धम्की देखाउँदै अभियुक्त भट्टराईले बलात्कार गर्दै आएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भए लगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो ।

हाल फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उहाँले बताउनुभयो । फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ ।

गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाई छ । प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको चौधरीले बताउनुभयो । 

“नानी अहिले पनि विरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ” बालिकाकी माइजु चौधरीले भन्नुभयो, “घटना थाहा पाए लगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौं । अपराधी पक्राउ परेको छैन ।” 

पीडितकी आमा खेतीपाती गर्नुहुन्छ भने बुवा मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । बालिकाको स्वास्थ्य अवस्था समेत चिन्ताजनक बन्दै गएको जनाउँदै परिवारका सदस्यहरु दोषीलाई तत्काल पक्राउ गरेर कानूनी कार्वाहीका लागि दवाव बढाउन राससको सम्पर्कमा आइपुग्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको हुँदा अभियुक्त छिटै पक्राउ पर्ने बताउनु भएको छ । उहाँले फरार अभियुक्तको तीब्र रुपमा खोजी कार्य भइरहेको र प्रहरीले चाँडै पक्राउ गरी कानुन अनुसार कारवाही अघि बढाउने जानकारी दिनुभयो । 

फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु. तीन लाख रुपैयाँको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाब दिने गरेको पीडितकी माइजु चौधरीले बताउनुभयो । अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उहाँको भनाई छ ।

“अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दवाव दिइनुले हामी त्रासमा परेका छौं,” पीडितकी माइजु चौधरीले रासससँग भन्नुभयो–“बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । छिटोभन्दा छिटो दोषी पक्रिनु पर्यो । कानूनी कार्वाही हुनुपर्यो । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।