१ असोज २०८१, मङ्गलवार

पहिचानवादीको आक्रमणमा परेका प्रहरी निरीक्षकको टाउँकामा १६ टाँचा

१४ वैशाख २०८०, बिहिवार
Image

विर्तामोड, १४ बैशाशख । पहिचानवादीहरुको आक्रमणमा बुधबार घाइते भएका दुई जना प्रहरीको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र घिमिरेले आक्रमणकारीको ढुंगामुढाबाट घाइते भएका इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङको टाउको फुटेको र प्रहरी सहायक हवल्दार सुदिन राजवंशीको गालाको हड्डी भाँचिएको बताउनुभयो । 

उहाँले माबुहाङको टाउँकोमा १६ वटा टाँचा गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राजवंशी र मावुहाङ दुवैको विएण्डसीमै उपचार भइरहेको जानकारी दिनुभयो । 

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्धशान्ति गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न आउने क्रममा पहिचानवादीहरुले आक्रमणको प्रयास गरेका थिए । कार्यक्रम स्थलदेखि सय मिटरको दुरीमै प्रहरीले कालोझण्डा र ढुंगामुढासहित आएका पहिचानवादीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरी माथि आक्रमण भएको थियो । 

कोशी प्रदेश नामाकरणको विरोधमा ढुंगामुडा प्रहार गरी प्रहरीलाई घाइते बनाउने दुई जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

पहिचानवादीको व्यानरमा अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गरिएपछि नेकपा एमाले जिल्ला कमिटी झापाले विज्ञप्ति नै जारी गरेर घटनाको भत्सर्ना गरेको छ । जिल्ला अध्यक्ष दीपक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “हाम्रो पार्टी पहिचानवादीको नामममा गरिने अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भत्सर्ना र निन्दा गर्दछ ।” 

विज्ञप्तिमा घाइते भएका प्रहरीद्वयको शीघ्र उपचारको व्यवस्था गर्न र विरोधको नाममा हुलहुज्जत गर्ने, सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नेलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको गरिएको छ ।