१५ वैशाख २०८१, शनिवार

राजनीति

पैतीस वर्षपछि एमाले केन्द्रीय कमिटीको बैठक झापामा

१८ वैशाख २०८०, सोमवार
Image

दमक, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको छ ।

नेकपा एमाले झापाले बैठक हुने स्थान दमक चयन गर्दै आवश्यक तयारी गरिरहेको पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

उहाँका अनुसार केन्द्रीय कमिटीको बैठक दमकको कश्मिक पार्टी प्यालेसमा हुने र उद्घाटन सभा दमक पशुहाटको खुला मैदानमा गरिने उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्नुहुने भएको छ । वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्द सत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

बैठकमा सहभागी पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई बैठकपश्चात वैशाख ३१ गते सुखानी लगायत झापा र इलाम जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलको अवलोकन गराइने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । मुलुककै होचो स्थान कचनकबल, महाभारतकालीन किचकबधस्थल, झापा विद्रोहमा सहादत प्राप्त गरेको स्थल सुखानी, सहिद पार्क सालबारी, कन्याम लगायतका स्थानहरु अवलोकन भ्रमणको सूचीमा परेका छन् । 

वि.सं. २०४५ सालयता झापामा पहिलोपल्ट पार्टीको केन्द्रीय कमिटीको बैठक हुन लागेको जनाउँदै उहाँले झापा बैठकले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाई प्रदान गर्न योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।

चितवन, बारा र तनहुँ जिल्लामा भएको उपनिर्वाचन पश्चात र कोशी प्रदेशको नामाकरणका विषयमा पूर्वमा पहिचानबादी दल र संघसंस्थाहरुले आन्दोलन गरिरहेका बेला नेकपा एमालेको केन्द्रीय बैठक पार्टी अध्यक्ष ओलीको गृह जिल्ला झापाको गृह नगर दमकमा आयोजना हुन लागेको हो ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा ३०१ जना छन् भने प्रदेश कमिटी अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।