१ असोज २०८१, मङ्गलवार

भूमेस्थानमा उभौली पर्वको धुमधाम

२२ वैशाख २०८०, शुक्रवार
Image

झापा, २२ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले जानकारी दिए ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

झापाको बुट्टाबारी, अर्जुनधारा, पृथ्वीनगर लगायतका स्थान रहेको साकेलास्थानमा जम्मा भएर पूजा आराधना र नाचगान हुने गरेको छ ।

यो पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायत पूर्वप्रधानमन्त्री, सभामुखलगायतले शुभकामना दिएका छन् ।