१५ वैशाख २०८१, शनिवार

कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

२६ वैशाख २०८०, मङ्गलवार
Image

झापा, २६ वैशाख । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाईगोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक संक्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै ४६२ वटा पशु रोग संक्रमणबाट मरेका छन् ।

इलाम, उदयपुर, धनकुटा, संखुवासभा लगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेशकी उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा. दीपा दियालीले बताउनुभयो ।

यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट संक्रमित पशुहरु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्ष अघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष भएको मानिएको छ ।

क्याप्री पक्स नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा. दियालीले बताउनुभयो । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

झापा र इलामका २७ हजार पशुमा संक्रमण

इलाम जिल्लाका दशै वटा र झापाका पन्ध्र वटै पालिकामा ‘लम्पी स्किन’को प्रकोप देखा परिसकेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शितल भट्टराईले बताउनुभयो । केन्द्रलाई झापा र इलाम दुबै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ ।

उहाँका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’बाट संक्रमित रहेको र ३४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन् । झापामा छ हजार ४९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा ११६ वटा पशु मरिसकेका छन् ।  

इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग संक्रमण भइसकेको र तीमध्ये २५० वटा पशु मरिसकेको उहाँले जानकारी दिनुभयो ।

झापाको बाह्रदशी गाउँपालिकामा एक हजार २०० गाईगोरु संक्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका ७०० र शिवसताक्षीमा २०० वटा गाईगोरुमा ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ । 

इलामको इलाम नगरपालिकामा तीन हजार २००, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार ३००, माइजोगमाईमा एक हजार ५०० वटा गाईगोरुमा यो रोगको संक्रमण देखिएको छ ।

‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको र्याल, शरीरबाट निस्कने तरल पदार्थ र मच्छड तथा भुसुनाको टोकाइबाट समेत एक पशुबाट अर्को पशुमा रोग संक्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताउनुभयो ।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’बाट पशुहरुलाई जोगाउने विषयमा किसानहरुसँग सचेतनामूलक गोष्ठी गरिएको थियो । गोष्ठीमा रु. ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

“गोठको सरसफाई राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रुपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानहरुलाई अपिल गरेका छौं,” भट्टराईले भन्नुभयो–“भ्याक्सिन लगाउँदा रोगबाट गाईबस्तुलाई जोगाउन सकिन्छ ।”

झापा र इलामका पशुपालक किसानहरुले ‘लम्पी स्किन’ पशुहरुलाई जोगाउन आफ्नै खर्चमा भ्याक्सिन लगाउन थालेका छन् । रोग लागिसकेका गाईबस्तुलाई गोठ सार्दा र विक्रीका कारण नयाँ ठाउँमा पुग्दा समेत ‘लम्पी स्किन’को संक्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरु बताउँछन् ।

कोशी प्रदेशका अधिकांश जिल्लामा यसको प्रकोपले महामारीकै स्वरुप लिइसक्दा समेत सरकारी स्तरबाट नियन्त्रणका लागि ठोस कार्यक्रम आउन नसकेको इलामको पशुपतिनगरका कृषक भीमबहादुर भण्डारीले बताउनुभयो । सरकारले रोगको रोकथाममा विशेष सहयोग गर्नुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ–“पहाडी जिल्लामा गाईभैसी पालेर जीविका धानिरहेका छौं, भटाभट रोगले मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।” 

कोशी प्रदेशकी उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा. दियालीले रोगबाट प्रभावित र मरेका पशुको विवरण मागिए तापनि विभिन्न जिल्लाबाट मन्त्रालयमा विवरण आउन बाँकी नै रहेको बताउनुभयो ।