झापा, २७ वैशाख । दलितमाथि हुँदै आएको सबैखाले विभेद्को अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन पत्रकार महिलाले सुरु गरेको साइकल यात्रा मंगलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।
वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, संगीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरुले यात्रा पूरा गर्नुभएको हो ।
रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आवद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी संगीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ ।
‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ भन्ने नाराका साथ उहाँहरुले साइकल यात्रा गर्नु भएको हो । साइकलमा उहाँहरुले राष्ट्रिय झण्डा फहराउनु भएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछुत लगायतका विभेद्विरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नु भएको थियो ।
साइकल यात्री रीता बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए तापनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता र आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उहाँको भनाई छ ।