१५ चैत २०८०, बिहिवार

निःशुल्क शिविर

वडामै जेष्ठ नागरिकको स्वास्थ्य जाँच

३० वैशाख २०८०, शनिवार
Image

मेचीनगर, ३० बैशाख । मेचीनगर–९ नम्बर वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । 

आज वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारीको सभाहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

वडा नम्बर ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको वडा सदस्य धनकुमार श्रेष्ठले बताए । 

शिविरमा डाक्टरहरुको सेवासहित एक्सरे, इसीजी, ल्याव टेष्ट, थेरापी, युएसजी, टिवी स्क्रिनिङ सेवा दिइएको छ । स्वास्थ्य शिविरमा हलेसी मेडिकलले प्राविधिक सहयोग उपलब्ध गराएको हो । 

उमेर पाको हुँदै गएपछि विभिन्न खाले रोगहरुबाट पीडित भएका जेष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सञ्चालन समितिका सचिव राजु धिमालले जानकारी दिए । 

उनका अनुसार शिविरमा एकजना बिरामी बराबर १५ सय रुपैयाँको स्वास्थ्य प्याकेज निःशुल्क उपलब्ध गराइएको छ । ४ सय भन्दा बढी जेष्ठ नागरिकको स्वास्थ्य जाँच गराउने लक्ष्य राखिएको धिमालले बताए ।

स्वास्थ्य शिविर सञ्चालन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष कञ्चन तामाङले मन्तव्य राखेका थिए । विहान ९ बजेदेखि सुरु भएको स्वास्थ्य शिविर बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।