८ वैशाख २०८१, शनिवार

कृषि

झापामै भेटियो ३६ जातका रैथाने धान

२ जेठ २०८०, मङ्गलवार
Image

झापा, २ जेठ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ ।

झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जातको बीउ फेला पारेको र त्यसमध्ये ३६ वटा जात झापामै भेटिएको हो ।

लि–बर्डका प्राविधिक सहायक पूर्ण पौडेलले स्थानीय कृषकले परम्परागत रुपमा उत्पादन गर्दै आएका धानको अध्ययन गर्दा झापामै ३६ जात अभिलेख भएको बताउनुभयो ।

फेला परेका धानका जातहरुलाई संरक्षणका लागि स्थानीय सामुदायिक बीउ बैंकमा भण्डारण गरिएको र कृषकहरुलाई यी धानहरुको खेतीमा प्रोत्साहित गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख शालिकराम भट्टराईले लि–बर्डद्वारा धानको रैथाने जातको विषयमा गरिएको खोज महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अधिकांश रैथाने धान लोपोन्मूख अवस्थाबाट गुज्रिरहेको समेत जानकारी दिनुभयो ।

“झापाको कृषि ज्ञान केन्द्रमा लामो समय कार्यरत रहँदा मैले पनि धानको रैथाने जातको बारेमा अध्ययन गरेको थिएँ,” पाँचथर कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो–“लि–बर्डले गहन रुपमा खोज गरेर रैथाने धानको संरक्षणमा पुर्याएको योगदान अतुलनीय छ ।”

यी हुन् झापाका ३६ रैथाने धान

शिवगञ्ज क्षेत्रबाट रातो टुँडे बासमती, कालटुँडे बासमती, जंगली मन्सुली, रुद्राक्ष, कालो नुनिया ठूलो, कालो बासमती र नाजिर जातको धान फेला परेको हो । 

सोही क्षेत्रबाट कालो नुनिया, बेलगुडी, हाप्सा रातो, हाँडीफोर, छोटी बासमती, हाप्सा, राँगाधान, रासधान, हंशराज रातो स्थानीय, कालो नुनिया सुधार नं. १ र कालो नुनिया सुधार नं. १० जातको धान फेला परेको छ । 

झापाको उत्तरपूर्वी बाहुनडाँगी क्षेत्रमा कृषकहरुले चुल्ठे, भोटाङ्गे, चम्पासरी, चनाचुर, अनदी र धनकुटे जातका रैथाने धानको खेती गर्दै आएको पाइएको छ ।

केचना, कोरोबारी, लखनपुर, गौरीगञ्ज, गौरादह, महाभारा, शनिश्चरे लगायतका क्षेत्रमा कतारखेरा, रातो बच्छी, दोसरा, होडबच्छी, ठूलो मनसरा, सेतो बासमती, लालबच्छी, बिरिमफुल, रातो बासमती, रातो अनदी र बदलधानको खेती हुने गरेको पाइएको लि–बर्डको प्रतिवेदनमा उल्लेख छ ।

झापा बाहेक मोरङ, सुनसरी, दाङ, कैलाली र डोटी जिल्लाका रैथाने २६ जातको धानको बीउ समेत लि–बर्डले खोज तथा संरक्षण गरेको छ । 

विदेशी बीउमा बढ्यो निर्भरता

केही दशक अघिसम्म कृषकहरु आफैले धानको बीउ भण्डारण गरेर राख्ने चलन थियो । परालको नेठी र चोयाको भकारीमा धानका बीउहरु किसानहरुले राख्थे । सिजन भएपछि त्यही बीउलाई व्याडमा उमार्ने र धानको बेर्ना रोप्ने चलन थियो ।

अहिले त्यो चलनमा ठूलो परिवर्तन आएको छ । भारतीय रञ्जित धानको बीउ नै झापा लगायत तराईको अधिकांश क्षेत्रमा रोपिने गरेको छ । जसका लागि कृषकहरु स्थानीय एग्रोभेट पसल र बीउ सप्लायर्सहरुमा निर्भर हुन्छन् । 

कृषि अर्थविज्ञ शालिकराम भट्टराईले धानखेतीका लागि आवश्यक बीउ बिजन आफै सञ्चित गर्ने परम्परागत चलन तोडिएका कारण बिगत केही दशकदेखि रैथाने धानका बीउहरु लोपोन्मूख अवस्थामा पुगेको बताउनुभयो ।

धान बालीको अनुसन्धानमा काम गरिरहेको कृषि अनुसन्धान केन्द्र तरहरा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले समेत रैथाने जातका धानका बीउको संरक्षण र खोज गरेर किसानहरुलाई खेतीका लागि सिफारिस गर्न सकेका छैनन् । 

नुनिया र बासमतीको माग उच्च

रैथाने धानमध्ये अधिकांश लोपोन्मूख अवस्थामा पुगिसके तापनि नुुनिया र बासमती धानको बजार उच्च रहेको छ । यी धान महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

मेचीनगर–१० की ८२ वर्षीया माया गुरुङले अहिले पनि गाउँबाट नुनिया र बासमती धान किनेर भात खाने गरेको बताउनुभयो । “यी धानको भाउ अरुभन्दा धेरै महँगो छ र भातको स्वाद र बासना साह्रै राम्रो हुन्छ”–उहाँले भन्नुभयो ।

पछिल्लो समयमा बजारमा बढी मूल्य पाउने आशमा धेरै जग्गा हुने किसानहरुले कालो नुनिया र सेतो बासमती धानको खेती विस्तार गरेको पाइएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।