झापा, ९ कात्तिक । नेपाली कांग्रेस मेचीनगर अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाउने मेचीनगर नगरपालिकाको निर्णयको विरोधमा उभिएको छ ।
पार्टीका मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय)ले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी निष्काशनको निर्णयले हजारौं नागरिकको सेवा पाउने अधिकार कमजोर हुने र नगरपालिकाको संस्थागत स्थायित्वमा दीर्घकालीन असर पर्न सक्ने भएकाले तत्काल निर्णय पुनरावलोकन गर्न माग गर्नु भएको छ ।
नगरपालिकाले असोज २९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार १३८ जना अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई पदबाट हटाएको थियो । संघीय सरकारको निर्देशनात्मक परिपत्र बमोजिम हटाइएको नगरपालिकाले जनाउँदै आएको छ ।
कर्मचारीहरुको सम्झौता एकतर्फी रुपमा रद्द गरिदा नगरपालिका र वडा कार्यालयहरुको दैनिक प्रशासनिक कार्यमा अवरोध सिर्जना भई सर्वसाधारणलाई प्रत्यक्ष असर परेको कांग्रेसको भनाई छ ।
पार्टीले मेचीनगर नगरपालिकालाई सम्बद्ध पक्षसँग छलफल गरी समस्याको चाँडोभन्दा चाँडो विधि र प्रक्रियाबाट समाधान गर्न जोडदार माग गरेको छ ।
यसअघि नेकपा एमाले मेचीनगरले समेत विज्ञप्ति प्रकाशित गरी कर्मचारी पुनर्वहालीको माग गरेको थियो । तर, राप्रपा, रास्वपा, नेकपा माओबादी केन्द्र लगायतका राजनीतिक दलहरुको धारणा आउन बाँकी नै छ ।