७ वैशाख २०८१, शुक्रवार

राजनीति

भ्रष्टाचारी नेताको भारी पार्टीले बोक्नु हुँदैन : गगन थापा

३ जेठ २०८०, बुधवार
Image

झापा, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पार्टीका नेताहरुको जिम्मा लिन नसक्ने बताउनु भएको छ । 

उहाँले मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने बताउनु भएको हो ।

‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो, अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो’ उहाँले भन्नु भएको छ ।

महामन्त्री थापाले यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति पनि पार्टीको जिम्मेवारीबाट स्वतः अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने बताउनु भएको छ । 

‘पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु, गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’ उहाँले भन्नु भयो ।

थापाको स्टाटसको पूर्णपाठ ः

नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम जनताको प्रश्न छ । यसको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन नै हो । विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रुपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ ।

यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वाभाविक छ । यसका विरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु । अब कुनै पनि व्यक्ति, समुह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति’ उजागर भएको छ । यो प्रकरण सबैको मापन गर्ने विषय बनेको छ, हामी कुन प्रवृत्तिको पक्षपोषण गर्न उभिन्छौं ? हामी कस्तो समाज र संस्कृति निर्माण गर्न चाहान्छौं ? मैले यस विषयमा विभिन्न संचार माध्यमलगायत संसदको समेत ध्यानाकर्षण गराइसकेको भए पनि केही कुरा दोर्होयाउन सान्दर्भिक ठानेको छु ः

१.  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो । यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो । तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन् ।

२.  हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ । अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ । कुनै पनि बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दवाव वा प्रभाव पारिनु हुँदैन । पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ ।

३.  विधिको शासन र कानूनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन् । अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन । दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैनस तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन । अनुसन्धानको स्वतन्त्र र स्वभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ ।

४.  विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनस्र्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो । नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो, अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो । यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ । पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोलि पनि मेरो धारणा यही नै रहनेछ । पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु( गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु ।

अतः हामी कांग्रेस प्रष्ट हुनुपर्छ ः

१ं नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।

२. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ ।


३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ । नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन् । त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं । यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ ।

अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ । त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ । सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन् । त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन, दवाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु । जय नेपाल ।