७ वैशाख २०८१, शुक्रवार

भूटानसँग पाँच वर्षमा एक खर्ब व्यापार घाटा

५ जेठ २०८०, शुक्रवार
Image

झापा, ५ जेठ । तेस्रो मुलुक भूटानसँगको व्यापारमा नेपालले लगातार घाटा व्यहोरिरहेको छ । बिगत पाँच वर्षमा नेपाललाई रु. एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा भएको पाइएको छ ।

बंगलादेशपछि भूटान नेपालको नजिक दूरीको तेस्रो मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भूटान र बंगलादेशको व्यापारिक कारोवार हुँदै आएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि चालू आव २०७९/०८० को वैशाख मसान्तसम्ममा काँकडभिट्टा नाका भएर भूटानबाट रु. एक खर्ब ७७ अर्ब ५९ करोड ७५ लाख ४० हजार मूल्य बराबरको मालसामान नेपालमा आयात भएको छ ।

सोही अवधिमा नेपालबाट भूटानतर्फ निर्यात भने रु. रु. ५० अर्ब ७५ करोड ९२ लाख तीन हजार मूल्य बराबरको मात्र भएको पाइएको छ । भन्सारको पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा नेपाल र भूटानबीचको व्यापारमा नेपालले आफ्नो उत्पादन निर्यातको तुलनामा तीन गुणाभन्दा ज्यादा मालसामान आयात गरेको देखिन्छ ।  

पाँचै वर्ष व्यापार घाटा

मेची भन्सार कार्यालयका अनुसार आव २०७५/०७६ मा भूटानसँगको व्यापार घाटा रु. एक अर्ब ४२ करोड ९६ लाख ५३ हजार थियो । 

आव २०७६/०७७ मा रु. ९९ करोड ३२ लाख २८ हजार, आव २०७७/०७८ मा रु. ६१ करोड ४२ लाख ७३ हजार, आव २०७८/०७९ मा रु. ९० करोड ८१ लाख ४१ हजार र आव २०७९/०८० मा रु. ७९ करोड ४५ लाख दुई हजार व्यापार घाटा रहेको छ ।

भूटानबाट नेपालले सिमेन्टमा प्रयोग हुने कच्चा पदार्थ जिप्सम आयात गर्दै आएको छ । त्यसैगरी नेपालबाट भूटानतर्फबाट सबैभन्दा धेरै फलाम र फलामबाट बनेको मालसामान निर्यात हुँदै आएको छ ।

चालू आव २०७९/०८० को दश महिनामा भूटानबाट रु. एक अर्ब १३ करोड ३९ लाख ३८ हजार मूल्य बराबरको जिप्सम आयात भएको छ । सोही अवधिमा नेपालबाट फलाम र फलामबाट बनेका मालसामान रु. तीन अर्ब ७० करोड ३७ लाख ३५ हजार मूल्य बराबरको निर्यात भएको छ ।

पर्यटक चाहिँ भूटानी धेरै

पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने पर्यटकहरुमा भूटानी नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार ९१४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेकोमा एक हजार ७१८ जना भूटानी नागरिक नै भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो ।

सन् २०२० मा एक जना मात्र भूटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर, सन् २०२१ मा या संख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा ५१९ र सन् २०२३ को हालसम्ममा यो संख्या अझ बढेर एक हजार ११८ जना पुगिसकेको छ ।

भूटानी नागरिकहरु आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बंगाल हुँदै भूटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र १७२ किलोमिटर रहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।