३० भदौ २०८२, सोमवार

पूर्वीनाकाबाट आजदेखि मेची भन्सारको सेवा सुरु

३० भदौ २०८२, सोमवार
Image

झापा, ३० भदौ । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयात निर्यातको काम सुरु भएको छ ।

आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले नयाँ कम्प्यूटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर आजदेखि सेवा सुरु गरिएको बताउनुभयो । 

“भौतिक संरचना र सामानहरु जलेर बाँकी केही छैनन्,” उहाँले भन्नुभयो– “कम्यूप्टर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौं र केही दाताहरुको सहयोग प्राप्त भएको छ । आयात निर्यातको काम आजदेखि सुरु गरेका छौं ।”

मेची उद्योग बाणिज्य संघको प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललाई आइतवार भेटेर भन्सार सञ्चालनका लागि आग्रह गरेको अध्यक्ष खेमराज प्रसाईले बताउनुभयो । वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिए सँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न समेत अपील गरेको छ ।

यसैगरी भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सुचारु गरेको जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएका थिए ।