१ असोज २०८१, मङ्गलवार

खानेपानीको वक्यौता नतिरेपछि मेचीनगरको धारा काटियो

६ जेठ २०८०, शनिवार
Image

झापा, ६ जेठ । महसुल नतिरेका कारण मेचीनगर नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको महसुल नतिरेको काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमै रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीहरुलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताउनुभयो ।

उहाँले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकहरुले एक्कासी पानीको धारा काटिदिएको गुनासो गर्नुभयो । “एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौं, एक शब्द सोधिएन”–उहाँले भन्नुभयो ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको बक्यौता रु. छ लाखभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । “उपभोक्तालाई लाग्ने कानून र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्यौं, तर नगर प्रशासनले पुरै वेवास्ता गर्यो”–समितिका अध्यक्ष पराजुलीले भन्नुभयो ।

मेचीनगर नगरपालिकाले खानेपानीको १४ वटा धारा प्रयोग गरिरहेको छ । पराजुलीले शुक्रवार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको दावी जानकारी दिनुभयो । नगरपालिकाले भने खानेपानीको बक्यौता छिटै भुक्तानी गरिने जनाएको छ । 

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले मेचीनगर नगरपालिकाको वडा नं. ६ लाई सरसफाईका लागि भाडामा दिइएको ट्याक्टरको विगत ६ महिनादेखिको भाडा समेत नगरपालिकाबाट भुक्तानी नपाएको जनाएको छ ।

हरेक ट्रिपको रु. एक हजार ८०० भाडा तिर्ने वडासँग सम्झौता भएकोमा वडा कार्यालयको भुक्तानी समेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताउनुभयो ।

संस्थाका अध्यक्ष पराजुलीले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताहरुको धारा काट्ने अभियान सुरु गरिएको बताउनु भएको छ । लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन संघ संस्थाको यसै साता धारा काटिदिएको उहाँले बताउनुभयो ।