१ असोज २०८१, मङ्गलवार

अपाङ्गमैत्री भवन नहुँदा मेचीनगरमा सेवाग्राहीलाई सास्ती

७ जेठ २०८०, आइतवार
Image

मेचीनगर, ७ जेठ । अपाङ्गमैत्री भवन नहुँदा मेचीनगर नगरपालिका कार्यालयमा अपाङ्गता भएका सेवाग्राहीले सास्ती व्यहोर्नु परेको जनाएका छन् । 

मेचीनगर नगरपालिका कार्यालयमा उपप्रमुख मिना उप्रेती र प्रमुख प्रशाकीय अधिकृत महेश पराजुलीलाई आइतबार  पालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गमैत्री कार्यकक्ष बनाउन उनीहरुले माग गरेका हुन् । 

अपांग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम बुढाथोकीले ज्ञापन पत्र बुझाउँदै नगरका प्रमुख र उपप्रमुखको कार्यकक्ष भुइँतलामा राख्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “तत्काल भवन बनाउन नसके पनि भूर्इँतलासम्म हामी पुग्न सक्छौं, उहाँहरु तत्काल सबैको पहुँच पुग्ने स्थानमा सर्नुपर्छ ।”

नगरपालिका भवन तीन तलाको छ । भवनको दोस्रो तलामा नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको छ  । उहाँले भवन पुनर्निमाण गरेर अपांगमैत्री बनाउन नसक्ने हो भने माथ्लो तलाबाट नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई भुइँतलामा स्थानान्तरण गर्न माग गर्नुभयो । 

नगरका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले ध्यानाकर्षण पत्र बुझेपछि अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाबाट सेवा र सुविधा पाउने सहज व्यवस्था मिलाइने आश्वासन दिनुभएको छ । आफ्ना कुरा राख्न नगरप्रमुख लगायत सामाजिक शाखाका कर्मचारीलाई भुइँतलामा बोलाउँदा बहानाबाजी गरेर नआउने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।