१ असोज २०८१, मङ्गलवार

महिलालाई नौमति बाजा बजाउने तालिम

७ जेठ २०८०, आइतवार
Image

दमक, ७ जेठ । दमक नगरपालिकाले महिलाहरुका लागि नौमति बजा बजाउने तालिम सञ्चालन गरेको छ । आइतबारदेखि सञ्चालित तालिमको दमक नगरपालिकाका प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले सुभारम्भ गर्नुभयो । 

तामिलको सुभारम्भ गर्दै नगर प्रमुख थापाले संस्कृतिको प्रवद्र्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । पछिल्लो समय बिभिन्न कार्यक्रमहरुमा नौमति बाजाको माग बढिरहेको भन्दै उहाँले महिलाहरुले बजा बजाउँदा आकर्षक पनि देखिने भएकोले यसको माग एकदमै धेरै रहेको बताउनुभयो । 

कार्यक्रममा नगर उपप्रमुख भट्टराईले नौमति बाजा कुनै एक लिङ्ग वा समुदायले मात्रै बजाउने नभई जसले पनि बजाउन सकिने बताउनुभयो । महिलाहरुले बाजा बजाउँदा समाजिक बिभेदको अन्त्य समेत हुने भन्दै उहाँले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने पनि बताउनुभयो । 

दमक नगरपालिकाले बाजा बजाउनु ईच्छुकलाई आवेदन दिन आग्रह गरेकोमा दुई वटा संस्थाबाट सहभागिताको लागि आवेदन आएकोले उनीहरुलाई छनौट गरी तालिम दिन थालिएको दमक नगरपालिका समाजिक शाखाका अधिकृत डम्बर बरालले जानकारी दिनुभयो । 

वडा नम्बर ३ को महिला शशक्तिकरण समूहका १५ जना र वडा नम्बर १० को संगम आमा समूहका १५ जना गरी ३० जनालाई एक महिने तालिम सुरु गरिएको उहाँले बताउनुभयो । तालिममा आवश्यक एक सेट बाजाको प्रबन्ध समेत नगरपालिकालेनै गरेको उहाँको भनाई छ ।