७ वैशाख २०८१, शुक्रवार

रोकिएको वृद्धभत्ता अब बाँडिन्छ : नगरप्रमुख बुढाथोकी

७ जेठ २०८०, आइतवार
Image

मेचीनगर, ७ जेठ । मेचीनगर नगरपालिकाका ज्येष्ठ नागरिकहरुको प्राविधिक कारणले रोकिएको वृद्ध भत्ता अब पाउने भएका छन् ।

बिगत चौमासिक किस्ताको वृद्धभत्ता मेचीनगरमा वितरण हुन सकेको थिएन । जसका कारण वृद्धवृद्धाहरु अत्तालिन थालिसकेका थिए भने वडा नं. २ का ज्येष्ठ नागरिकहरुले वडा कार्यालयको सहजिकरणमा नगरपालिकामै पुगेर भत्ता मागेका थिए ।

नगर प्रमुख गोपाल बुढाथोकीले एक दुई दिनमै वृद्धभत्ता वितरण थालिने बताउनुभयो । नगरपालिकाको लेखा शाखाले समेत वृद्धभत्ता वितरणको वाधा अड्काउ फुकाइएको जानकारी दिएको छ ।

वृद्धभत्ता कहिले आउँछ भनेर बुझ्न आउने वृद्धवृद्धाहरुलाई नगरपालिकाले छिट्टै वितरण हुनेमा ढुक्क हुन आश्वासन दिएर घर पठाउने गरेको छ ।

संघीय सरकारले सामाजिक सुरक्षा अन्तर्गत वृद्ध लगायतलाई मासिक भत्ता दिदै आएको छ । विगत वर्षदेखि नै मेचीनगरको वृद्धभत्ता वितरणमा महालेखा परीक्षणको प्रतिवेदनले बेरुजु देखाउँदै आएको थियो । 

नगरपालिकाले जति रकम बैंकहरुलाई भत्ता वितरणका लागि पठाउने गरेको थियो, बैंकले सबै रकम वितरण गर्न सकेको पाइएको छैन । यस्तो बेरुजु बढ्दै गएपछि कोष तथा लेखा निरीक्षण कार्यालय झापाले यसपटक भत्ताको निकासा रोकेको थियो ।

नगरपालिकाले केही दिनभित्रै बेरुजु फस्र्यौट गर्ने प्रतिवद्धता जनाएपछि कोलेनिकाले भत्ता नियमित गएको हो । केही वडामा मृत व्यक्तिको नाममा समेत वृद्धभत्ता बाँडिएको आशंका छ ।