७ वैशाख २०८१, शुक्रवार

पाँच बर्षमा १५१ किलोमिटर सडक कालोपत्रे

११ जेठ २०८०, बिहिवार
Image
Gallery Images

झापा, ११ जेठ । पूर्वाधार विकास कार्यालय झापाले पाँच बर्षको अवधिमा १५१ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । 

कोशी प्रदेश सरकार स्थापना अर्थात आर्थिक बर्ष २०७५/०७६देखि २०७९/०८० सम्ममा कालोपत्रे भएको १५१ मध्ये २८ किलोमिटर सडक इलाममा भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ६ देखि करिब ३० किलोमिटरसम्मका सडकहरु कालोपत्रे भएका कार्यालयका प्रमुख श्यामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रदेश सरकारले बनाएका योजना अनुरुप बजेट निकासी गर्न नसक्दा थप सडकहरु कालोपत्रे हुन नसकेको बताउनुभयो । 

“जिल्लामा थुप्रै योजना अधुरा र अपुरा छन्”, उहाँले भन्नुभयो, “बजेट अभावले भनेजस्तो काम हुन सकेको छैन ।” दर्जनौं सडक बहुबर्षीय योजना अन्तरगत कालोपत्रे भइरहेको उहाँले बताउनुभयो । उहाँले आधा दर्जन बढी सडकको निर्माण सम्पन्न भए पनि ठेकेदारलाई बजेट अभावले भुक्तानी गर्न नसकिरहेको जानकारी दिनुभयो । 

उहाँले हालै कालोपत्रे भइसकेका धुलाबार–ज्यामिरगढी–भन्द्रपुर, सतासीधाम झिलझिले, दुगापुर दानाबारीदेखि इलाम जाने सडक, दमक–५ बुद्धचोकदेखि ढकुरपानी शान्तिचोक हुँदै महेशचोक मोरङ्ग सडक, सुखानी दानाबारी चिसापानी राजदुवाली सडक, अमरपथ कनकाई–३ सुरुङ्गादेखि बोर्डरसम्मको सडकको बजेट अभावले रकम समेत भूक्तानी गर्न नसकिएको बताउनुभयो । 

प्रमुख श्रेष्ठले भन्नुभयो “हामीसँग योजना छ, दक्ष जनशक्ति छ तर पर्याप्त बजेट छैन ।” उहाँले समयमै निर्माणको ठेक्का पाएका कम्पनीहरुलाई बजेट निकासा गर्न नसक्दा अधुरा सडकमा दबाब दिएर काम लगाउन नसकिएको बताउनुभयो । 

गाउँका अधिकांश धुलाम्मे सडक कालोपत्रे भएसँगै स्थानीयबासी भने खुशी छन् । सडक कालोपत्रेसँगै बर्षौदेखि धुलो र हिलोबाट मुक्ति मिलेको धुलाबारी ज्यामिरगढी भद्रपुर सडक खण्डका स्थानीय रोशन न्यौपानेले बताउनुभयो । सडक कालोपत्रे सँगै ग्रामीण क्षेत्रका विद्यार्थी, कर्मचारी र किसानलाई समेत आवातवापतमा सजिलो भएको छ ।

सोही अवधिमा इलाम र झापामा १० वटा मोटोरेवल पुल, १३ वटा झोलुङ्गे पुल निर्माण गरिएको भौतिक पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर अमृतकुमार दाहालले बताउनुभयो । उहाँले दुवै जिल्लाका विभिन्न खोलामा ३२ मिटरदेखि १२० मिटरसम्म लम्बाई भएका झोलुङ्गे पुल बनाएको बताउनुभयो । 

ईं दाहालले इलामका रतुवामाई, शिवा, झुत्रेलगायतमा छ वटा र झापाका देउनिया, हडिया, अदुवालगायतका पाँच वटा खोलामा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । जिल्लामा आठ वटा मोटरेवल पुल निर्माण भएका छन् । सोही अवधिमा इलाममा दुई वटा मात्र निर्माण गरिएको उहाँको भनाई छ । 

झोलुङ्गे पुल र मोटरेवल पुलले एक स्थानबाट अर्को स्थानमा पुग्न घण्टौं लाग्ने समयको बचत भएको उहाँले जानकारी दिनुभयो ।