८ वैशाख २०८१, शनिवार

झापामा आफन्तबाटै अधिकांशको हत्या

१३ जेठ २०८०, शनिवार
Image

झापा, १३ जेठ । झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । 

आर्थिक बर्ष २०७९ साउनदेखि २०८० बैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखिएको हो । 

हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात पाँच जना आफ्नै श्रीमानबाट मारिएका छन् । सामान्य घरायासी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेको अनुसन्धानको क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

उहाँले हत्याका क्रममा अभियुक्तहरुले चिर्पट, खुकुरी, हसिया, बामफोकलगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नैबाट बढीको हत्या भएको देखिन्छ । हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ । उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन् ।”

उहाँले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि बृद्धबृद्धासम्मको हत्या, श्रीमान, छोरा, आफन्त, छिमेकी र बुहारीलगायतबाट भएको बताउनुभयो । उहाँले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शंका, विवाहेत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागूऔषधका कारण हत्याको घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानको क्रममा देखिएको बताउनुभयो ।