२१ वैशाख २०८१, शुक्रवार

कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका विरामी उच्च

२९ जेठ २०८०, सोमवार
Image

झापा, २९ जेठ । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका विरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुट्टाले जनाएको छ । 

चालु आर्थिक बर्षको साउनदेखि बैशाखसम्ममा कोशीमा तीन हजार ५५८ जना क्षयरोगका विरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागार्इंले बताउनुभयो ।

उहाँले मोरङमा एक हजार तीन जना, झापामा नौ सय २३ जना, सुनसरीमा आठ सय ७५ जना र उदयपुरमा दुई सय ४२ जना क्षयरोगका विरामी रहेको बताउनुभयो । 

यसैगरी तथ्याङ्कमा ताप्लेजुङमा ४६ जना, संखुवासभा ५२ जना, सोलुखम्बु ४४, खोटाङ ५५, भोजपुर ५३, धनकुट्टा ६४, तेह्रथुम २३, पाँचथर ४८ र इलाममा ९२ जना रहेको देखिन्छ । सरकारले क्षयरोगका कारणले परिवारमा पर्ने अधिक व्ययभार शुन्यमा झार्ने रणनीतिका साथ काम गरिरहेको फोकल पर्सन गुरागाईंले बताउनुभयो ।

उहाँले हाल जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुमार्फत गाउँगाउँमा पुगेर क्षयरोगका विरामी खोज्ने, नियमित औषधि सेवनका लागि आग्रह गर्ने काम गरिरहेको बताउनुभयो । 

उहाँले नेपालमा कूल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित रहेको अनुमान गरिएको बताउनुभयो । राष्ट्रिय क्षयरोग कार्यक्रमका चुनौतीलाई सामना गर्दै र स्थानीय तहलाई जवाफदेही बनाई सन २०५० भित्र नेपालमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँले सो अवधिमा क्षयरोगको अन्त्यका लागि संघ, प्रदेश र स्थानीय तह बीच कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संयन्त्र विकास गर्ने, स्थानीय तहमा आवश्यकता अनुसार सरोकारवालाहरुको सहभागिता हुने गरी समिति गठन र जिम्मेवारी तोक्ने, स्वास्थ्यकर्मी, स्वयम्सेवक, शैक्षिक संस्था, सामाजिक संघसंस्था, सरकारी नीति तथा गैर सरकारी संघसंस्थाहरु समेतलाई कार्यक्रमप्रति जिम्मेवार बनाउने बताउनुभयो ।