२३ भदौ २०८१, आइतवार

गाईफार्मको ‘हब’ बन्यो बाहुनडाँगी

२ असार २०८०, शनिवार
Image

झापा, २ असार  झापाका १५ स्थानीय तहका १३१ वडामध्ये मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । 

मेचीनगर–४ स्थित बाहुनडाँगीमा मात्र साना ठूला गरी २४ वटा व्यवसायिक गाईफार्म रहेका छन् । जसका कारण बर्षेनी रोजगारीका लागि विदेशिने युवा समेत यसतर्फ आकर्षित भएका छन् ।

यस क्षेत्रका गाई किसानले दैनिक सात लाखबढीको दूध विक्री गर्दै आएको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाले बताउनुभयो । उहाँले किसानले थोरैमा ३० वटादेखि २०० वटा उन्नतजातका गाईपालन गरिरहेको बताउनुभयो । 

बाहुनडाँगीका अधिकांश किसानले उन्नत जातका गाई भारतको बेङ्ग्लोर, केरलाबाट ल्याउने गरेका छन् । उहाँका अनुसार होलस्टेन, साइबल र जर्सी जातका गाई किसानले पाल्दै आएका छन् । जसमध्ये सबैभन्दा बढी दुधालू साइबल जातको गाई रहेको उहाँको भनाई छ । 

“साइबलले एक पटकमा २५ लिटर दूध दिन्छ”, गाई पनि हेरांै हेरौं लाग्ने र दूध पनि बढी दिने हुँदा सबैको ध्यान यसै जातको गाईतर्फ गइरहेको छ ।” उहाँले १० महिना अघि मात्र बेङ्ग्लोरबाट रु. दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइको बताउनुभयो । जसमध्ये तीन वटा उहाँकै गोठमा रहेका छन् ।

उहाँले घरमै आफूले उत्पादन गरेको दूध प्रतिलिटर रु ७७ मा बेच्ने गरेको बताउनुभयो । दैनिक ६०० लिटर दूधबाट घरमै बसेर रु.४२ हजार बढी आम्दानी गदै आएको उहाँको भनाई छ । ३५ बर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आउनुभएको निरौलाले छ बर्ष अघिदेखि मात्र गाईफार्म सुरु गरेको बताउनुभयो । बाहुनडाँगीबासीले उत्पादन गर्दै आएको सबै दूध मेचीनगरमै रहेको ऋतिका डेरी उद्योगले खरिद गर्दै आएको छ ।

लामो समयदेखि हात्तीबाट पीडित बनेका बाहुनडाँगीबासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जंगली हात्तीका कारण घरमा थन्क्याउनै पाइदैन थियो”, उहाँले भन्नुभयो, “गाईलाई त हात्तीले केही गर्दैन ।” उहाँले गाईको आहाराको लागि बारीमै जौ, नेपियरलगायत नाम गरेको घाँसखेती गर्दै आएको बताउनुभयो 

उहाँले प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत किसानलाई प्रतिलिटर रु. दुईको दरले दिएको अनुदानले समेत प्रोत्साहन मिलेको बताउनुभयो । उहाँले गाईपालनबाट राम्रो आम्दानी हुने भए तापनि दक्ष प्राविधिकको अभावमा समस्या भइरहेको बताउनुभयो ।