२७ वैशाख २०८१, बिहिवार

सम्झनामा द्रोणाचार्य

जसको आवाजले पञ्चायती सत्ता हल्लिन्थ्यो

७ असार २०८०, बिहिवार
Image

झापा, ७ असार । पञ्चायती शासनको उत्तरार्ध २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा झापाबाट जनपक्षीय उम्मेद्वार केशवकुमार बुढाथोकी र द्रोणाचार्य क्षेत्री बिजयी हुनुभएको थियो । निर्दलीय पञ्चायती सदनमा बहुदलीय लोकतान्त्रिक व्यवस्थाका पक्षधरहरु जितेर जानु उसबेलाको ठूलो राजनीतिक परिघटना थियो ।

कम्युनिस्ट विचारधाराका क्षेत्री र प्रजातान्त्रिक धारका बुढाथोकी दुबैलाई झापाली जनताले आफ्नो प्रतिनिधि चुन्दा पञ्चायती सत्ता हल्लिएको थियो । दुबैले राष्ट्रिय पञ्चायतको बैठकमा बहुदलीय प्रजातन्त्रको स्थापना र निर्दलीय पञ्चायती शासनको खारेजीको आवाज बुलन्द गर्नुहुन्थ्यो ।

झापालीका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको निधन भएको ३० औं वर्ष भइसकेको छ । जनपक्षीय एवम् बहुप्रतिभाशाली व्यक्तित्व क्षेत्रीको राजनीतिक संघर्ष र योगदानको स्मरण गर्नेहरुले उहाँलाई एक सच्चा राष्ट्रबादी राजनीतिज्ञ, जनसेवी जनप्रतिनिधि, प्रगतिशील साहित्यकार र कुशल पत्रकारको रुपमा सम्मान अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकीले रापंसकालीन सहकार्यको स्मरण गर्दै देशको हित र जनताको जीवनमा परिवर्तन ल्याउन इमान्दारीका साथ होमिएको एउटा महान नेताको रुपमा क्षेत्रीलाई आफुले पाएको बताउनुभयो ।

“जनतालाई अन्याय र थिचोमिचो भएको देख्न नसक्ने उहाँ क्रान्तिकारी र प्रखर वक्ता हुनुहुन्थ्यो,” बुढाथोकी भन्नुहुन्छ–“मैले उहाँलाई वि.सं. २०३६ सालतिर सुरुंगामा मनमोहन अधिकारीसँग एउटा जनसभामा पहिलोपल्ट भेटेको थिएँ । सामान्य लुगा लगाउने र कार्यक्रममा आकर्षक भाषण गर्ने खुबी भएको उहाँ भ्रष्टाचार, शोषण र विदेशी हस्तक्षेपको कडा बिरोधी हुनुहुन्थ्यो ।”

२०४३ सालको आम चुनावमा घैला चुनाव चिह्न लिनुभएको क्षेत्री र घर चुनाव चिह्न लिनुभएको बुढाथोकीबीच चुनावी तालमेल थियो । झापाका सचेत बामपन्थी तथा प्रजातान्त्रिक मतदाताले दुबैलाई शानदार मत प्रदान गरेर बिजयी बनाएका थिए । 

बहुदलीय प्रजातन्त्र वहालीपछि २०४८ सालको प्रथम आम निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं. १ बाट क्षेत्री नेकपा मालेको उम्मेद्वार बन्नुभएको थियो । चुनावमा बिजयी भएपछि उहाँले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको मन्तब्यहरु अरुहरुका लागि मार्गदर्शन हुने गरेको उहाँका सहयोद्धा एवम् वरिष्ठ अधिवक्ता लीला उदासी बताउनुहुन्छ ।

“उहाँजस्तो देशभक्त नेता पाउन आज गाह्रो छ,” उदासी भन्नुहुन्छ–“द्रोणाचार्य पञ्चायती शासनको विरोधमा भइरहेको संघर्षबाट खारिएको लोकप्रिय जननेता हुनुहुन्थ्यो । उहाँले भारतबाट महेशपुर र सुस्तामा भूमि अतिक्रमण हुँदा विरोधमा भएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । मुलुकको स्वाधीनता र रक्षाका खातिर ज्यान दिन तयार हुने तर कुनै विदेशी शक्तिका सामू नझुक्ने उहाँको अडान थियो ।”

वि.सं. २०५० असार ६ गते भारतको दिल्लीस्थित अलइन्डिया मेडिकल इन्स्टिच्युटमा क्यान्सरको उपचारको क्रममा उहाँको निधन भएको थियो । “भोकै, तिर्खै बसेर जनताका खातिर आन्दोलनमा रमाउने उहाँलाई आफ्नो स्वास्थ्यको भन्दा देश र जनताको बढी माया थियो”–उदासी भन्नुहुन्छ ।

स्व. क्षेत्रीको अभाव आज पनि नेपाली राजनीतिमा महसुस भइरहेको जनाउँदै मेची बहुमुखी क्याम्पसकी पूर्व प्रमुख टीका प्याकुरेल उहाँले देखाएको वैचारिक निष्ठा, साधा जीवनशैली र इमानदारिताबाट वत्र्तमान नेपाली राजनीतिले शिक्षा लिनुपर्ने बताउनुहुन्छ । जनताको झुपडीमा पुगेर पीरमर्का बुझ्ने र शासकीय अन्यायको डटेर मुकाबिला गर्ने शैलीले नै उहाँलाई जनपक्षीय नेता बनाएको प्याकुरेलको भनाई छ ।  

पूर्वी पहाडको राजनीतिक रुपमा सचेत तेह्रथुमको आठराईमा वि.सं. २००२ मंसिर २९ गते जन्मनु भएको उहाँ जीविकाका लागि भारतको आसाम पनि बस्नु भएको थियो । पछि आफ्नै देश फर्कने क्रममा उहाँ सपरिवार दक्षिण झापाको दुर्गम गाउँ पृथ्वीनगरमा आइपुग्नु भएको थियो ।

उहाँलाई नजिकबाट जानकारी राख्ने पत्रकार माधव विद्रोहीका अनुसार पृथ्वीनगरमा उहाँको पराले टाटीबेरा भएको टाढे घर थियो । पछि उहाँ सांसद् भएपछि भद्रपुरको हस्पिटल चोकमा भुइँटाढे काठको घरभाडामा लिएर बस्नुहुन्थ्यो । आफ्नो कमाई समेत दुःखी र गरीवलाई बाँड्ने उहाँले निजी सम्पत्ति जोड्ने कुरामा कहिल्यै ध्यान नदिएको पत्रकार विद्रोही बताउनुहुन्छ ।

साहित्यकार पुण्यप्रसाद खरेलका अनुसार स्व. द्रोणाचार्य क्षेत्री प्रगतिशील साहित्यकार र कम्युनिस्ट आन्दोलनका प्रेरक व्यक्ति भएको बताउनुहुन्छ । उहाँका थुप्रै कविता तत्कालीन पत्रपत्रिकाहरुमा प्रकाशित भएका थिए भने पञ्चामृत नामक मासिक पत्रिकाको उहाँ सम्पादक नै हुनुहुन्थ्यो । पञ्चामृत पत्रिका पञ्चायतकालमा झापाका बामपन्थी धारको मुखपत्र थियो । उहाँको २०२२ सालमै ‘नुनिला आँसु’ नामक कथा संग्र्रह प्रकाशित भएको थियो ।

मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि स्व. द्रोणाचार्य क्षेत्री जस्ता अथक योद्धाहरुको योगदान र संघर्षशील भूमिका छ । झापामा उहाँको योगदानको सम्मान गर्दै द्रोणाचार्य स्मृति प्रतिष्ठान गठन भएको छ । प्रतिष्ठानले उहाँका राजनीतिक योगदानहरुको अभिलेखिकरण गर्ने र साहित्य एवम् पत्रकारिता क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेकाहरुलाई सम्मान गर्ने योजना बनाएको प्रतिष्ठानका अध्यक्ष रविन कोइराला बताउनुहुन्छ ।