४ जेठ २०८१, शुक्रवार

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण

११ असार २०८०, सोमवार
Image

झापा, ११ असार । उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकोले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार ८९० हेक्टर जमिनमा व्यवसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कठ्ठादेखि २५० विगाह जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उहाँको भनाई छ ।

उहाँले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताउनुभयो । 

जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यवसायिक खेती भइरहेको छ । यहाँका किसानहरुले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए । तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोशा भएको र उत्पादन समेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेका छन् ।  

गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका–४ र गौरीगञ्ज गाउँपालिका–५मा गरी ४१ विगाह जमिनमा जी–नाइन जातको व्यवसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानहरुको ५७ विगाह जमिन भाडामा लिएर फार्मले रु. दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।

फार्मका अध्यक्ष बासुदेव उप्रेतीले सुरुमा विरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यू कल्चरद्वारा उत्पादित केराको विरुवा ल्याएर रोपण गरिएको बताउनुभयो ।

उहाँले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी–नाइन जातका केराको विरुवा लगाएको बताउनुभयो । नौ महिना अघि भद्रपुरमा १६ विगाह जमिनमा लगाएको विरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उहाँले सो केरा दशैं तिहारमा निकाल्ने तयारी रहेको बताउनुभयो । 

स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, –“हामीले ८० प्रतिशत अग्र्यानिक मलको प्रयोग गरेका छौं । २० प्रतिशत मात्र यूरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।”

पाँच जना युवा मिलेर केराको व्यवसायिक खेती गर्दै आएको उहाँले बताउनुभयो । उहाँले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ विगाह जमिनमा ४० हजार विरुवा रोपण गरेको बताउनुभयो । उहाँले बाँकी रहेको ३२ विगाह जमिनमै केराको व्यवसायिक खेती गरिने बताउनुभयो । 

“केरा खेतीमा व्यवसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ”, उहाँले भन्नुभयो –“विज्ञलाई सोध्दै र अन्य किसानहरुसँगको अनुभवको आधारमा खेती गरिरहेका छौं ।” उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उहाँको भनाई छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताउनुभयो ।

यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आउनुभएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु. एक लाख राशीको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो । 

बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको हो । इजरालबाट फर्केर विगत चार बर्ष अघिदेखि उहाँले २५ विगाह जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी–नाइन र रातो केराको खेती गर्दै आउनुभएको छ ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।