१२ साउन २०८१, शनिवार

मेचीनगरलाई दलहरुको सुझाव–‘ठूला गफ धेरै भो, अब काम गर्नुहोस्’

११ असार २०८०, सोमवार
Image

मेचीनगर, ११ असार । मेचीनगरका राजनीतिक दलहरुले नगरपालिकाको नेतृत्वलाई ठूला गफ होइन, साना साना भए पनि काम सफल बनाउन सुझाव दिएका छन् ।

आइतबार नगरसभाको अधिवेशन उद्घाटन अवसरमा बोल्दै दलका स्थानीय नेताहरुले ठूला योजना गर्छु भनेर आश्वासन सुनाउने तर परिणाम चाहिँ नआउने बिगतकै गल्ती अब नदोहोर्याउन आग्रह गरे ।

नगरसभामा नगर प्रमुख गोपाल बुढाथोकीले नीति तथा कार्यक्रम र उपप्रमुख मीना उप्रेतीले वार्षिक बजेट प्रस्तुत गर्नु भएको छ । नीति तथा कार्यक्रम सुनेका दलहरुले मन्तब्यको क्रममा बोलेका कुरा पुर्याउन शुभकामना दिएका थिए ।

नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुले नगरपालिकामा पटकपटक प्रमुख प्रशासकीय अधिकृत फेरिने गरेको विषयमा टिप्पणी गर्नुभएको थियो ।

उहाँले यसपालीका प्रमुख प्रशासकीय अधिकृतलाई टिकेर काम गर्न सुझाव दिदै कतैबाट दवाव आए नेपाली कांग्रेस अधिकृतको बचाउका लागि उभिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले हरेक चुनावमा हात्ती, सुकुम्बासी लगायतका समस्या समाधान गर्छु भन्दै जनतासँग भोट माग्नु पर्ने अवस्था नल्याउन आग्रह गर्दै समस्या समाधानका लागि नगर नेतृत्व, प्रदेश सांसद र संघीय सांसद् मिल्नु पर्ने बताउनुभयो ।

नेकपा एमाले मेचीनगरका इञ्चार्ज चन्द्र प्रसाईले यसपटकको नगरसभाको अधिवेशनमा बिगतको जस्तो तामझाम नदेखिएकोमा धन्यवाद दिदै नगरपालिका आफैले मितब्ययिताको सुरुवात गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले लागू पदार्थको दूव्र्यसन हटाउन र सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन नगरपालिकाले ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।

नेकपा माओबादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले नगरपालिकाले ठूलो पहाड उठाउनु नपर्ने दृष्टान्त दिदै जनताको मुहारमा खुशी र आँगनमा सुख पुर्याउन साना साना काम गर्दा हुने बताउनुभयो ।

उहाँले भ्रष्टाचार शून्य बनाउन, मासिक श्रम शिविर आयोजना गर्न, सुत्केरीलाई पोषिलो खानेकुरा पुर्याउन र बाँसका मुडाको विक्री स्टल राख्न सुझाव दिनुभयो । उहाँले राम्रा राम्रा काम गरेमा अर्को चुनावबाट अर्कै पार्टी र नयाँ जनप्रतिनिधि आउनु नपर्ने टिप्पणी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष कमल गौतमले नगरप्रमुखलाई नीति तथा कार्यक्रम पढ्नै गाह्रो हुनेगरी धेरै कुरा चाहिएकै छैन भन्ने टिप्पणी गर्दै यत्राे नगरको स्वास्थ्य केन्द्रमा एउटा फिजिसियन डाक्टर नहुनु बिडम्बना भएको बताउनुभयो ।

उहाँले मेचीनगरको जनप्रतिनिधिले तारजाली खोज्न अर्जुनधारा जानु परेको जनाउँदै नगरपालिकाले आफ्ना कर्मचारीहरुलाई प्रयोग गर्न नजानेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष विशाल बास्तोलाले एक दिनको विदा लिएर १५ दिनसम्म विद्यालय नआउने शिक्षकहरु यही नगरभित्र रहेको बताउनुभयो । 

उहाँले १० दिनसम्म धुलाबारी स्वास्थ्य केन्द्रका भिडियो एक्स रे गर्ने प्राविधिक विदामा बस्दा नागरिकले सास्ती पाएको गुनासो सुनाउँदै बजेट तथा नीति कार्यक्रममा भएका सबै कुरा व्यवहारमा उतारिने हो भने मेचीनगर संसारकै उत्कृष्ट बन्ने दावी गर्नुभयो ।

नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष हरि तिम्सिनाले नीति तथा कार्यक्रममा लेखिएका आधा कुरा मात्रै पूरा हुने हो भने मेचीनगर स्वीट्जरल्यान्ड जस्तै समृद्ध बन्ने टिप्पणी गर्दै स्रोत र साधन भएर पनि मेचीनगर विकास निर्माणमा सुस्त रहेको बताउनुभयो ।

जनता समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङको नाम वक्ताको रुपमा बोलाइए पनि उहाँ उपस्थित हुनु भएको थिएन ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मा, प्रदेश सांसदहरु गोपाल तामाङ र सबिना बजगाईले समेत मन्तब्य राख्नु भएको थियो । पूर्व नगरप्रमुख बिमल आचार्यको भने कार्यक्रममा उपस्थिति थिएन ।