४ जेठ २०८१, शुक्रवार

दाताकै भरमा ७२ बर्ष पुरानो भद्रपुर गौशाला

१२ असार २०८०, मङ्गलवार
Image

झापा, १२ असार । झापाको पुरानो गौशालाको रुपमा परिचित भद्रपुर गौशाला अझै दाताकै भरमा सञ्चालन भइरहेको छ । 

अपाङ, अशक्त र बूढा गाईहरुलाई संरक्षण गर्ने उद्देश्यले वि.सं. २००९ सालमा स्थापना गरिएको गौशालालाई सरकारीस्तरबाट सहयोग नहुँदा दाताकै भरबाट सञ्चालन भएको हो । गौशालाको सुरुवात भद्रपुरका स्वर्गीय भवानी शंकर मित्रुका, मुक्तिध्वज जोशी, जनार्दन शर्मा र जगदीश मिण्डाले गर्नुभएको गौशाला व्यवस्थान समितिका अध्यक्ष राजेन्द्रप्रसाद चापागाईंले बताउनुभयो । 

गौशाला सञ्चालनका लागि तत्कालीन समयमा भद्रपुरमा स्व. मित्रुकाले २५ विगाह, जोशीले तीन विगाह र शर्माले साढे तीन कठ्ठा जग्गा नि:शुल्क प्रदान गर्नुभएको थियो भने आठ कठ्ठा जमिन शर्मासँगै खरिद गरिएको थियो ।

सोही जग्गा मध्ये भद्रपुर नगरपालिका–५ मा साढे ११ कठ्ठा जग्गामा गौशाला सञ्चालनमा आएको छ । अन्य २० विगाह जमिन ठेक्कामा लगाइएको छ भने बाँकी छ विगाहमा गौशाला सार्ने तयारी भइरहेको अध्यक्ष चापागाईले बताउनुभयो । गोठमा हाल ११३ वटा उन्नत र लोकल जातका गाईबाच्छा छन् । 

गौशालामा भएको गाईमध्ये शिवसताक्षी धामस्थित गोलक गोवद्र्धन गौशालाका प्रमुख नन्दकिशोर भारद्वजको सहयोगमा केही बर्ष अघि दिल्लीबाट ल्याइएका उन्नतजातका जर्सी, गीरा, साइबल, हरियाना, इलामे जातका लोकल गाई छन् । हाल झापामा दुईवटा गौशाला रहेका छन् । 

यिनै गाईको दूधबाट बार्षिक रुपमा गौशालाले रु. २४ लाख, गोबर विक्रीबाट रु. छ लाख गरी करिब ३० लाख आम्दानी गर्दै आएको छ । उहाँका अनुसार गौशाला सञ्चालनका लागि बार्षिक रु. ७२ लाख खर्च हुने गरेको छ । उहाँले गाईवस्तुको हेरचाहमा दैनिक १० जना, एक जना पशु चिकित्सकलाई मासिक तलब दिएर राखेको बताउनुभयो । उहाँले गाईको दाना, पराल, विरामी हुँदा उपचार र कर्मचारी खर्चमा बार्षिक ७२ लाख खर्च हुने गरेको बताउनुभयो । 

गोठ आधुनिक खालको छ । हरेक गाईका डुढमा पानीको धारा जडान गरिएको छ । गाईलाई गर्मी र लामखुट्टेबाट जोगाउनका लागि पंखाको समेत व्यवस्था गरिएको छ । यी सबै संरचना दाताको सहयोगबाट नै बनेको उहाँको भनाई छ । “सेवा नै धर्म हो भन्ने हाम्रो अभिप्राय हो”, उहाँले भन्नुभयो, “तर खर्चले धान्नै गाह्रो भयो । यहाँबाट हुने आम्दानी भन्दा बढी दाताको सहयोगबाट चलिरहेको छ । सरकारको सहयोग छैन ।” 

उहाँले गौशाला सञ्चालनका लागि बार्षिक रुपमा रु. १८ लाख जगदीश मिण्डाले सहयोग गर्दै आएको बताउनुभयो । उहाँ जस्तै अन्य दाताले समेत बर्षेनी रु. ५० हजारदेखि रु. एक लाखसम्म सहयोग गर्दै आएका छन् ।

गौशाला सञ्चालन मध्येका जगदीश मिण्डा मात्र जीवित हुनुहुन्छ । उहाँ दैनिक जसो गौशालामा पुग्ने र गाईवस्तुलाई सुसुम्याउने, समस्या बुझ्ने गर्दै आएको अध्यक्ष चापागाईले बताउनुभयो । “गौ माता भनेपछि मरिहत्ते गर्नुहुन्छ, उहाँले भन्नुभयो,–“अरु क्षेत्रमा भन्दा पनि गाईको सेवाका लागि बर्षेनी एक्लै १८ लाख बढी सहयोग नै दिनुहुन्छ ।”

मिण्डाको नेतृत्वमा वि.संं. २०७४ मा गौशाला परिसरमा दाताहरुको सहयोगमा संकलन गरिएको रु. ८० लाखको लागतमा भव्य कृष्णको मन्दिर, आधुनिक गोठ, कार्यालय र सन्त आवासलगायतका संरचना निर्माण ठरिएको थियो छ । 

गौशालामा रहेका गाईलाई लम्फी स्क्रिन रोगबाट जोगाउनका लागि तीन महिना अघि नै भारतको सिलगुढीबाट भ्याक्सिन ल्याएर लगाइएको अध्यक्ष चापागाईले बताउनुभयो ।

गोठ सार्न समस्या

हाल भद्रपुर नगरपालिका–५ मा रहेको गाई गोठ साँघुरो भएको छ । प्रहरीले तस्करले भारततिर लैजाँदै गरेका गाई पक्रेर ल्याउँदा राख्ने ठाउँको अभाव भएको हुँदा खुल्ला र फराकिलो स्थानमा गोठ सार्न आर्थिक अभावमा समस्या भएको छ ।

अध्यक्ष चापागाईले आउँदो आर्थिक बर्षमा भद्रपुर– ४ मा रहेको छ विगाह जमिनमा गाईको गोठ सार्ने तयारी भइरहेको बताउनुभयो । उहाँले हाल ११ कठ्ठा जमिनमा भएको गौशाला साँघुरो हुँदा पराल र गोबर व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । 

उहाँले गोठ सार्न करिब रु. दुई करोड बढी लाग्ने अनुमान भएको बताउनुभयो । “बजेट छैन । गोठ नसारि भएको छैन”, उहाँले भन्नुभयो, “स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौं । सायद सहयोग हुन्छ भन्ने अपेक्षा पनि छ ।”


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।