२३ भदौ २०८१, आइतवार

स्वास्थ्य

मेचीनगरले स्वास्थ्यमा कति छुट्यायो बजेट ?

१२ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाले धुलाबारीको स्वास्थ्य केन्द्र र काँकरभिट्टाको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्नका लागि यसपाली उल्लेख्य बजेट छुट्याएको छ ।

काँकरभिट्टा स्वास्थ्य चौकीमा प्रसुति सेवा विस्तार गर्नका लागि रु. २० लाख विनियोजन गरेको हो । आव २०८०/०८१ को वजेटमा उक्त रकम छुट्याइएको छ ।

यसैगरी, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत नगर अस्पतालमा रुपान्तरण गरिने भएको छ ।

नगर अस्पताल सेवा विस्तारका लागि रु. १० लाख रकम विनियोजन गरिएको छ । साथै, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स रे मेसिन खरिदका लागि नगरपालिकाले रु. एक लाख बजेट छुट्याएको छ ।

बजेटमा स्वास्थ्य शीर्षकमा अरु थुप्रै रकम विनियोजन गरिएको छ ।

नगरपालिकाले अत्यावश्यक औषधि खरिदका लागि रु. १५ लाख, स्वास्थ्य चौकीमा ल्याव सामान व्यवस्थापन गर्न रु. ५ लाख र आयूर्वेद स्वास्थ्य जीवन कार्यक्रमका लागि रु. २ लाख बजेट छुट्याएको छ ।

मेचीनगरलाई क्षयरोग मुक्त नगर बनाउन विभिन्न कार्यक्रम गरिने भएको छ । त्यसका लागि रु. ५ लाख बजेट बिनियोजन गरिएको छ । 

थेरापी सेवालाई पनि बजेटले प्राथमिकता दिएको छ । महिला जनचेतना केन्द्र काँकरभिट्टालाई रु. एक लाख र वीपी ग्रामीण सेवा केन्द्रलाई रु. २ लाख बजेट छुट्याइएको छ ।

निःशुल्क वितरण हुने औषधि र सुत्केरीका लागि पौष्टिक आहारमा नगरपालिकाले बजेट छुट्याएको छ । 

अत्यावश्यक औषधि खरिदमा रु. १५ लाख, औषधि उपचार खर्चमा रु. ५ लाख र

सुत्केरी पोषण भत्ता (पौष्टिक आहार वितरण)मा रु. ७ लाख बजेट बिनियोजन गरिएको छ ।

आर्थिक सहायता

मिर्गौलाको प्रत्यारोपण, मुटुको अपरेसन र मेरुदण्डको अपरेसनमा नगरपालिकाले प्रति व्यक्ति प्रतिवर्ष रु. १० हजार आर्थिक सहायता दिने जनाएको छ ।

यो सहायता आर्थिक विपन्न वर्गलाई कार्यविधि बनाएर वितरण गरिने बजेटको नीति तथा कार्यक्रममा उल्लेख छ ।

मिर्गौलाको प्रत्यारोपण, मुटुको अपरेसन र मेरुदण्डको अपरेसन पछि औषधि खर्चका लागि नेपाल सरकारले घोषणा गरेको प्रति व्यक्ति प्रतिमहिना रु. पाँच हजार सहयोग दिने बारेमा भने मेचीनगरको बजेटमा केही उल्लेख छैन ।