४ जेठ २०८१, शुक्रवार

झापामै टिष्यू कल्चर प्रविधिबाट केराको विरुवा उत्पादन

१३ असार २०८०, बुधवार
Image

झापा, १३ असार । जिल्लामा टिष्यू कल्चर प्रविधिबाट केराका विरुवा उत्पादन गर्न थालिएको छ । जसका कारण भारत र विरगञ्जबाट विरुवा ल्याउनुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् । 

जिल्लामा जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातको केराको विरुवा गौरादह नगरपालिका– २ र अर्जुनधारा नगरपालिका–३ मा टिष्यु कल्चर प्रविधिबाट उत्पादन गर्न थालिएको छ । जुन विरुवा केरा खेती कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताउनुभयो । 

सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नम्बर –१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ । यसलाई सहयोग पुर्याउने उद्देश्यले गौरादह नगरपालिका– दुर्लभ कार्कीले टिष्यू कल्चर प्रविधिबाट केराको विरुवा उत्पादन गरेको बताउनुभयो । यद्यपि सरकारबाट भने कुनै सहयोग नलिएको उहाँले बताउनुभयो । 


फाइकस बायोटेक प्रालि नामक संस्थाबाट काठमाडौंको बुढानीलकण्ड नगरपालिका–२ र गौरादहमा टिष्यू कल्चर प्रविधिबाट विरुवा उत्पादन गर्ने काम भइरहेको सञ्चालक कार्कीले जानकारी दिनुभयो ।

उहाँले वि.संं २०७२ सालमा बुढानीलकण्ठमा ल्याब सुरु गरे तापनि झापामा भने वि.सं. २०७६ सालबाट मात्र सुरु गरेको बताउनुभयो । उहाँले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको र संस्थाको ५०–५० प्रतिशत लगानीमा रु. दुई करोडको लागतमा ल्याब सञ्चालनमा ल्याएको बताउनुभयो । ल्याबबाट बार्षिक ८० हजार केराको विरुवा  र एक लाख आलुको विरुवा उत्पादन हुने गरेको छ ।

टिस्यु कल्चर प्रविधिबाट विरुवा उत्पादन गर्दा एकै पटक सामुहिक उत्पादन गर्न सकिने र किटाणुरहित विरुवा उत्पादन हुने उहाँको भनाई छ । यस प्रविधिबाट उत्पादन गरिने विरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।  वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै २ महिनासम्म विरुवा हुकाएपछि मात्र रोप्न योग्य हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,–“झन्झटिलो भए पनि यस्तो विरुवाबाट उत्पादन गरिएको केराको फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन् तर भारतबाट सस्तो मूल्यमा आयतीत विरुवाका कारण कहिलेकाही बजारीकरणमा समस्या छ ।” ल्याबमा हाल १० जना स्थानीयलाई रोजगारी समेत पाएका छन् । 

उहाँले यहाँ उत्पादित केराको विरुवा जिल्लामै खपत हुँदै आएको बताउनुभयो । भारतबाट आउने सस्तो मूल्यको विरुवाका कारण कहिलेकाहीँ विक्रीमा यहाँ समस्या हुने गरको छ । उहाँले हाल जी नाइन, मालबोक, र विलियम हाइव्रेड जातको केराको विरुवा ल्याबमा रहेको बताउनुभयो । 

किसानले नर्सरीबाटै जी नाइन, विलियम हाइव्रेड जातको विरुवा प्रतिगोटा रु ३५ र मालबोक केराको विरुवा प्रतिगोटा रु. ६५ ले विक्री गर्दै आएको उहाँले बताउनुभयो । किसानले चैतदेखि भदौसम्म विरुवा रोप्ने गरको उहाँले बताउनुभयो । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।