१२ साउन २०८१, शनिवार

अब राप्रपाले मुख्यमन्त्री दावी गर्ला ?

१५ असार २०८०, शुक्रवार
Image

झापा, १५ असार । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत नपाएर पदमुक्त भए पछि अब नयाँ सरकारको चावी राप्रपाको हातमा छ ।

राप्रपाले अहिलेसम्म नेकपा एमालेसँग गठबन्धन गरिरहेको छ । जसका कारण एमाले र राप्रपा मिलिरहँदा संसद्मा यो गठबन्धनको सांसद संख्या ४६ पुग्छ ।

तर, कोशी प्रदेशमा नयाँ सरकार गठनको बाटो सहज देखिएको छैन । नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी र जसपा मिल्दा सांसद्को संख्या पनि सभामुखसहित ४६ नै पुग्छ ।

यसलाई संसद्मा कसैको पनि बहुमत नभएको अवस्था भनिन्छ । तसर्थ नयाँ सरकार गठन गर्न राप्रपाले कांग्रेस–माओबादी गठबन्धनलाई समर्थन गर्न सक्ने एउटा उपाय छ । जसका लागि कांग्रेसले राप्रपालाई धेरै भन्दा धेरै मन्त्री दिने भनेर फकाइरहेको पनि छ ।

राप्रपासँग मात्र ६ सिट छ । उसले एमालेसँगको सहकार्य तोडेर अर्को गठबन्धनमा जानासाथ नयाँ सरकारको ढोका खुल्ने भएकाले उसँग चावी भएको मानिएको हो । कतै पनि बहुमत नपुग्ने अवस्थाको फाइदा उठाउँदै राप्रपाले संसदीय दलका नेता भक्ति सिटौलालाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ला त ? यो पनि सम्भावनाभित्रकै सवाल भएको छ ।

मुख्यमन्त्री कांग्रेस कि माओबादीबाट ?

कठिन अंकगणितका कारण कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई नयाँ सरकार गठनका लागि सजिलो छैन । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले आफ्नो नेतृत्वमा सरकार दाबी गर्ने बताइरहेका छन् । यदि कांग्रेसकै नेतृत्वमा गठन हुने हो भने झापाका उद्धव थापा मुख्यमन्त्री बन्नुहुनेछ । तर, कांग्रेसका अरु नेताले पनि मुख्यमन्त्रीमा दावी छाडेका छैनन् ।

सभामुखले के गर्लान् ?

कांग्रेस गठबन्धनमा सभामुख निर्णायक भएका कारण विषय झन् जटिल छ । एमालेले सभामुखले सरकार गठनमा भाग लिन नमिल्ने भनिरहेको छ । माओबादीका सभामुखले पदबाट राजीनामा दिनु भए एमालेले उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने चेतावनी दिइरहेको छ । 

उपसभामुखको पनि राजीनामा आएमा संसद्को ज्येष्ठ सदस्यले सदनको नेतृत्व गर्नुपर्ने हुन्छ । संसद्को ज्येष्ठ सदस्य नेपाली कांग्रेसकै हुनुहुन्छ ।

सभामुखले बराबरी हुँदा मात्रै निर्णायक मत दिन पाउने भएका कारण कांग्रेस गठबन्धन दललाई विश्वासको मत लिने बैठकमा एमालेका एक जना मात्रै सांसद अनुपस्थित भए भने के गर्ने भन्ने चिन्ता छ ।

कांग्रेस लगायतको गठबन्धनले धारा १६८ को २ अनुसार दुई भन्दा बढी दल मिलेर नयाँ सरकार गठन हुनुपर्ने बताइरहेका छन् ।

नेकपा एमाले भने धारा १६८ को ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । एमाले कोशीको सबैभन्दा ठूलो दल हो ।

बहुमत जुटाउन नसकेको एमाले सहमतीय सरकारको पक्षमा छ ।

‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु,’ एमाले संसदीय दलका नेता कार्कीले विश्वासको मत माग्दा उठेका प्रश्नको जवाफ दिने क्रममा भन्नु भएको थियो, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्नेवाला छैन ।’

कोशी प्रदेशमा एमालेको ४० र राप्रपाको ६, कांग्रेसको २९, माओवादी केन्द्रको सभामुख बाहेक १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

नयाँ सरकार गठन गर्ने कि मत्तयावधिमा प्रदेशलाई लैजाने भन्ने चावी बोकेको राप्रपाले नयाँ परिस्थितिका बारेमा केही बोलिरहेको छैन । राजनीतिक विश्लेषकहरु राप्रपाले अब मुख्यमन्त्रीको दावी गर्ने अनुमान गरिरहेका छन् ।