२२ वैशाख २०८१, शनिवार

रोटरी र वडाको सहकार्य

मेजसा विद्यालयमा शुद्ध पिउने पानी

१६ असार २०८०, शनिवार
Image

बाहुनडाँगी, १६ असार । खानेपानीको अभाव झेलिरहेको बाहुनडाँगीको एउटा विद्यालयले आजदेखि केहि राहत महसुस गरेको छ ।

नेपालको कर्णाली जिल्ला कै जस्तै हविगत व्यहोरिरहेको मेचीनगरको विकट गाँउको एउटा विद्यालयमा खानेपानीको धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु खुशी भएका थिए । त्यो अवसर जुराईदिएको थियो रोटरी क्लब अफ काँकरभिट्टाले ।

मेचीनगर–२ स्थित मेची जनसाधारण विद्यालयमा विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्व पिउने पानी उपलब्ध होस् भन्ने हिसावले तीन ठाउँमा ९ वटा धारा जडान गरिदिएर रोटरीले उदाहरणीय कार्य गरेको छ ।

शनिबार रोटरीले सो विद्यालयमा एक कर्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो ।

३ महिना अघिदेखि रोटरीले मेचीनगर–२ नम्बर वडा कार्यालयसँग सहकार्यमा विद्यालयमा शुद्व पिउनेपानीका लागि संरचना निर्माण थालेको थियो । 

निर्माण सम्पन्न पश्चात रोट्रियर २०२३–२४ का अध्यक्ष ईन्जिनियर रुद्र मैनालीले कार्यभार सम्हालेको पहिलो दिनको अवसरमा आज सो आयोजना विद्यालयलाई हस्तान्तरण गरिएको बताइएको छ । 

अब विद्यार्थीले युभी वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् । विद्यार्थीहरुलाई सहजिकरणका निम्ती सो धाराहरु जडान गरिएको छ । 

वडाध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर कार्यपालिका सदस्य नरेन्द्र न्यौपाने, रोटरीका निवर्तमान अध्यक्ष सुजन प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि बरालले विद्यालयमा शुद्ध पिउनेपानीको आयोजना निर्माण गरिदिएकोमा रोटरीलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले विद्यालयले पिउनेपानीको अभाव झेल्नुपरेको स्मरण गरेका थिए । 

‘पानीको संकट थियो’, अध्यक्ष न्यौपानेले भने–‘दुषित पानी पिउनुपर्ने बाध्यता उस्तै थियो । तर अब यो अस्थाको अन्त्य भएको छ । रोटरीलाई धन्यवाद छ ।’ रोटरी र वडाको करिव तीन लाख रुपैयाँको बजेटमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।

उनले वडा नम्बर २ मा रहेका ३ वटा स्कुल मध्ये दुईवटा स्कुलमा खानेपानी धारा पुग्यो अब गाडागल्लीको एउटा स्कुलमा पनि खानेपानीको धारा पुर्याईदिन रोटरीलाई अनुरोध गरेका छन ।

यसअघि रोटरीले मेचीनगरका केहि विद्यालयमा सो प्रकृतिका योजनाहरु गरेको छ । र अब बाँकी रहेका ठाउँहरुमा पनि चाडै पुर्याउने लक्ष्य रहेको अध्यक्ष मैनालीले बताए । खानेपानी, शिक्षा, स्वास्थ्य, वातावरण लगायतका सामाजिक क्षेत्रमा काम गरिरहेको उनको भनाई छ ।

रोटरीका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्य माथि निवर्तमान अध्यक्ष सुजन प्रधानले प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन रोटरीका योजना संयोजक दिपेन्द्रराज पाण्डे र सचिव भगिरथ राईले संयुक्तरुपमा गरेका थिए ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।