२३ वैशाख २०८१, आइतवार

कविता

अस्ति असार १५ मा

२० असार २०८०, बुधवार
Image

असार १५ मा हिलोले पोतिएको वस्त्र
फ्याँकिसकेछ उसले,
तस्बिर ज्युँदो छ,
बेला बेला पोस्ट्याउन
कृषि क्रान्तिको अभियन्ता जो हो ।
रोपाइँ धानको मात्र हुन्छ
असारमा पानी पर्दा हिलोमा
रोपिन्छ मात्र जान्दछ उ ।

कुलो, खाद्य, बिउ, ब्याड, बाउसे, आलि
पटा, हली रोपार के वा को हुन् ?
सोध्ने फुर्सद भयो कि भएन उसलाई ?
माहिला दाइको छेउमा त उ देखिएन
कयौं असारे गन्ध आउछ
दाइको इस्ट्कोटबाट
माइली भाउजु गनगनाउन थाल्लिन्
मल र बिउ पाइन भनेर
खुसुक्क आयो लुसुक्क गयो ।

अर्को असार १४ सम्मको निम्ति
तस्बिर साक्षी छ महान कृषि अभियन्ताको ।
अब उ उर्लेको कुर्लेको देखिन्छ
लिखित भाषणमा मल ,बिउ ,कुटो, कोदालो
नाम्लो डोको होइन
अत्याधुनिक कृषि मशिनको
ओइरो नै लगाइदिन्छ ।

सिंचाइका बडेमानका योजनाहरु
ल्याएर उत्पादनको परिमाण चुल्याइदिन्छ ।
२१ औ शताब्दीको म निर्दो किसान
उसैले बोलाएको भिडमा पुगेर
फेरि पनि ताली बाजाउछु
अमुल्य भोट खसाउछु ।

लेखकको बारेमा
Image
शंकर भट्टराई

मेचीनगर ६ काँकरभिट्टा निवासी शंकर भट्टराई शिक्षा र आध्यात्मिक क्षेत्रका अभियन्ता हुनुहुन्छ ।