२० वैशाख २०८१, बिहिवार

हात्तीको आक्रमण

इक्साको तीन वटा अपरेसन गर्नुपर्ने, पैसा छैन

२३ असार २०८०, शनिवार
Image

मेचीनगर, २३ असार । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी झापाको अर्जुनधारा–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारका आर्थिक अभाव भएको छ ।

छिमेकी आफन्तको घरमा चार दिन अघि रातको ३ बजेतिर उनी हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बीएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको उपचारमा रु. छ देखि आठ लाखसम्म खर्च हुने प्रारम्भिक अनुमान छ । 

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार घाइते इक्साको कम्मरमा हात्तीको दाह्राले घोचेको गहिरो प्वाल छ भने देब्रे कान चुडिएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका अनुसार उनको फोक्सोमा पानी जम्न थालिसकेको छ भने छातीको एउटा करङ भाँचिएको, हातको पाता खुस्किएको र हड्डी चोइटिएको गिरीले जानकारी दिनुभयो ।

“चिकित्सकहरुले तत्काल तीन वटा शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभएको थियो,” गिरीले भन्नुभयो–“दुई वटा शल्यक्रिया भइसकेको छ । पेटबाट अत्याधिक रक्तश्राव भइरहेको कारण अर्को शल्यक्रिया आइतवार मात्र गरिने भएको छ ।” 

स्थानीय खगेन्द्र लिङ्देनका अनुसार खुदुनाबारीको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत् इक्साका वुवा पहलमान लिम्बुको यसअघि नै स्वर्गवास भइसकेको छ भने आमाले दोस्रो विवाह गरेर गएको हुँदा हाल उनी ९४ वर्षीया हजुरआमा (बोजु)को संरक्षणमा बस्दै आएकी थिइन् ।

“घरको आर्थिक अवस्था दयनीय छ”, लिङ्देनले भन्नुभयो–“घाइतेको अवस्था गम्भीर रहेको कारण उपचारमा आर्थिक अभाव तगारो बन्ला कि भन्ने देखिएको छ । त्यसैकारण स्थानीय युवा भाइहरुले आर्थिक सहयोग अभियान चलाइरहनु भएको छ ।”

हस्पिटलमा औषधिसहित हालसम्ममा रु. चार लाख खर्च भइसकेको बताइएको छ । अर्जुनधारा नगरपालिकाले घाइतेको उपचारमा रु. ४० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकाको उत्तरी जंगल आसपासको ग्रामीण क्षेत्र मानव–हात्ती द्वन्द्वबाट अत्याधिक प्रभावित मानिन्छ । जुकेखाडी, दहिीझोडा लगायतका सामुदायिक बन क्षेत्र नजिक रहेको कारण गाउँहरुमा वर्षेनी हात्तीको आक्रमणमा जनधनको क्षति हुने गरेको छ ।

घाइते इक्साका ठूलोबुवा धनबहादुर लिम्बुका अनुसार घटना भएको राति छिमेकी भाञ्जेदाइको घरमा भाउजु र सानो नानी मात्र रहेका कारण साथी बस्नका लागि इक्सा गएकी थिइन् ।

राति सुतिरहेकै अवस्थामा हात्तीले घर भत्काएर इक्सालाई झम्टेको थियो । हात्तीले सुँढ प्रयोग गरेर इक्साको कान लुछ्नुका साथै दाह्रा धसेर कम्मरमा प्वाल पारेको थियो । उक्त अवस्थामा इक्साकी भाउजु र सानी बच्चीले भागेर ज्यान जोगाएका थिए ।     

युथ अफ खुदुनाबारी नामक सामाजिक संस्थाले सामाजिक सञ्जालमार्फत इक्साको उचारका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष मनोज सिटौलाले बताउनुभयो ।

“हात्तीको आक्रमण र चोटको अवस्था हेर्दा इक्साको ज्यान धन्न बँचेछ भन्नुपर्छ,” सिटौलाले भन्नुभयो–“आमावुवा नभएकी इक्साको उपचारमा आर्थिक अभाव भएपछि हाम्रो संस्थाले सहयोगका लागि अपिल गरेको हो ।”

सहयोगको लागि :
Youth of Khudunabari
Excel development bank
02900200141134000001

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।