१ असोज २०८१, मङ्गलवार

साढे नौ करोडको बजेट क्षेत्रमा ल्याएँ : सांसद् सबिना

२४ असार २०८०, आइतवार
Image

चारआली, २३ असार । प्रदेश सभा सदस्य सबिना बजगाईले नौ करोड ५६ लाख रुपैयाँको बजेट आफ्नो निर्वाचन क्षेत्रमा ल्याउन सफल भएको दावी गर्नु भएको छ ।

आज चारआलीमा पत्रकार सम्मेलन गर्दै उहाँले आव २०८०/०८१ को कोशी प्रदेशको बजेटमा उक्त रकम बराबरको ३३ वटा बिकासे परियोजना समावेश गरेको जानकारी दिनुभयो ।

झापा निर्वाचन क्षेत्र नं. १ को ‘ख’ मा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सांसद्मा निर्वाचित हुनुभएको हो । 

‘मेरो निर्वाचन क्षेत्रको विकास निर्माणमा चासो रहने भएको हुँदा मैले पहल गरेर यसपाली नौ करोड ५६ लाख रुपैयाँको बजेट पारेकी छु’– उहाँले भन्नुभयो ।

ऊर्जा, जलश्रोत र सिञ्चाई मन्त्रालयमार्फत दुई करोड २६ लाख ५० हजारका १० वटा परियोजना बजेटमा समावेश भएको उहाँले जानकारी दिनुभएको छ ।

त्यसैगरी, पर्यटन, बन तथा वातावरण मन्त्रालयमार्फत तीन करोड ७३ लाख रुपैयाँको १६ वटा परियोजना, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत ६० लाख रुपैयाँको चार वटा, सामाजिक विकास मन्त्रालयमार्फत २८ लाख रुपैयाँको दुई वटा र आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत एक करोड १६ लाख ५६ हजारको एउटा परियोजना बजेटको रातो किताबमा समावेश भइसकेको उहाँको भनाई थियो ।

प्रदेश सरकारमा राप्रपाका तर्फबाट भक्ति सिटौला मन्त्री बन्नु भएको कारण आफुलाई क्षेत्रमा बजेट ल्याउन सहज भएको सांसद् बजगाईले बताउनुभयो ।

उहाँले पत्रकारहरुले सोधेका विभिन्न जिज्ञासाहरुको जवाफ दिनु भएको थियो । पत्रकारहरुका तर्फबाट प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले क्लवको भवन निर्माण र क्षमता विकासका लागि पत्रकारिता तालिमका लागि बजेटको व्यवस्था मिलाइदिन आग्रह गर्नु भएको थियो । 

सो कार्यक्रममा नेकपा एमालेकी नेतृ रेणुका डाँगी र राप्रपाका नगर नेताहरुको उपस्थिति रहेको थियो ।