२ कार्तिक २०८१, शुक्रवार

‘सीता दाहालको काजकिरिया नहुने’

२८ असार २०८०, बिहिवार
Image

झापा, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको धार्मिक विधिअनुसार काजकिरिया नगर्ने सल्लाह भएको र त्यसैअनुरूप शोक मात्र मनाइएको परिवारका सदस्यहरूले बताएका छन् ।

बुधवार दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरेर फर्किएपछि पारिवारिक छलफलपश्चात् धार्मिक वा सांस्कृतिक रूपमा अघि नबढ्ने निर्णयमा आफूहरू पुगेको प्रचण्डको परिवारका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले बताउनुभयो ।

‘धार्मिक विधिअनुसार काजकिरिया गर्ने कुरा चाहिँ गरिएन भनौँ न,’ उहाँले भन्नुभयो । सीताको निधन भएसँगै शोक मनाउने क्रममा परिवारका सदस्यहरूले नुन पनि नबारेको बताइएको छ ।

६९ वर्षकी सीताको बुधवार काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

‘भावनात्मक ढङ्गले शोकमा बस्ने एउटा कुरा भयो । मन, वचन, कर्म हुन्छ नि आआफ्नो तरिका... समर्पित सबै शोकमा हुने भइहाल्यो । तर देखावटी रूपमा कोरामा बस्ने, नुन नखाने त्यस्तो छैन,’ दाहालले भन्नुभयो ।

बुधवार आर्यघाटमा भने धार्मिक विधिअनुसार नै सीताको दाहसंस्कार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँलाई प्रधानमन्त्री आफैँले मुखाग्नि (दागबत्ती) दिनु भएको थियो । त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए ।

पशुपतिमा दाहसंस्कार विधि चल्दै गर्दा सेनाको नेतृत्वमा विभिन्न विधि सम्पन्न गरिएको परिवारका सदस्यहरूको भनाई छ ।

‘अँ, बाहुनले के के गर्न भन्नुभयो, प्रचण्डले त्यहाँ त्यही गर्नुभयो,’ उहाँले भन्नुभयो–‘यो भन्या कस्तो हो भने जस्तो हामी कहीँ शिलान्यास गर्न जान्छौँ नि त्यो आफ्नो कब्जाभन्दा, भावनाभन्दा बाहिरको कुरा हुँदोरहेछ के । शिलान्यास गर्न जाँदा त हामी पूजा गर्छौ ढुङ्गामा ।’

यसअघि पनि प्रचण्डका छोरा प्रकाशको निधन हुँदा पनि काजकिरिया नगरिएको उहाँले बताउनुभयो ।

पत्नीको निधन भएसँगै दुई तीन दिनसम्म प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा उपस्थित नहुने दाहालले बताउनुभयो ।

त्यसबीच हुने भेटघाट पनि राजनीतिक नहुने उहाँले जानकारी दिनुभयो । बुधवार पत्नी सीताको मृत्यु भएपछि प्रचण्डले प्रधानमन्त्रीका रूपमा मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभयो ।

उक्त बैठकले सीता दाहालको अन्तिम संस्कारका समयमा राजकीय सम्मान स्वरूप नेपाली सेनाले सलामी दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बुधवार आर्यघाटमा सीताको दाहसंस्कार भएपछि प्रचण्ड बालुवाटारमै हुनुहुन्छ । बिहीवार बिहान भएको भेटका क्रममा हिजोभन्दा गलेजस्तो महसुस भएको प्रचण्डले आफूलाई बताएको दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको खानपान भने नियमित रहेको उहाँ बताउनु हुन्छ । ‘हिजो पनि रोटी खानुभयो,’ दाहालले भन्नुभयो ।

दाहालका अनुसार प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन भेट्न चाहनेहरूका लागि समय छुट्ट्याइएको छ । बिहान ८ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म समवेदना दिनका लागि बालुवाटारस्थित पुरानो भवनमा रहेको प्रधानमन्त्रीको सचिवालय नजिकै जान पाइने व्यवस्था मिलाइएको छ ।

दुई दिनसम्म नेकपा माओवादी केन्द्रले सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम गर्ने र शोकपुस्तिका पनि राख्ने भएको छ ।

शोकपुस्तिकामार्फत समवेदना दिन चाहनेहरूका लागि भने बिहान ८ बजेदेखि ६ बजेसम्म बालुवाटारको ढोका खुला रहने बताइएको छ ।

प्रधानमन्त्री दाहालकी पत्नी सीताको अन्तिम संस्कारका बेला राजकीय सम्मान स्वरूप नेपाली सेनाले सलामी दिएको थियो ।

तर सरकारको उक्त निर्णयमा भने सामाजिक सञ्जालमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले उक्त कदमको आलोचना पनि गरेका छन् ।

लेखक खगेन्द्र सङ्ग्रौलाले ट्विटरमा अन्तिम संस्कारका बेला ‘सेना प्रहरीले बुट बजार्दै सलामी दिने संस्कृति’लाई ढोँग, विलास र सेना प्रहरीको दुरुपयोगको सङ्ज्ञा दिनु भएको छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार कार्यविधिमै कतिपय अवस्थामा उल्लेख नभए पनि अभ्यासमा भने राज्यद्वारा दिने सम्मान राजकीय वा औपचारिक नै हुन्छ ।

तर सीता दाहालको राजकीय सम्मानसहितको अन्तिम संस्कारको निर्णय भने मन्त्रीपरिषद्को निर्णयमा आधारित रहेर गरिएको अधिकारीहरूले बताएका छन् ।

नेपालको पछिल्लो इतिहासमा बहालवाला प्रधानमन्त्रीको पत्नीको निधन भएको छैन जस कारण पनि अन्तिम संस्कारसम्बन्धी व्यवस्थाबारे विधि स्पष्ट छैन ।

‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको जुन मर्यादाक्रम छ ती सरह नै उनीहरूको पत्नीको मर्यादाक्रम हुन्छ भनेको हुनाले प्रधानमन्त्री वा सो सरहको हो भन्ने अन्तर्राष्ट्रिय अभ्यास र यहाँको पनि त्यो मर्यादाक्रम रहेको हुनाले त्यो व्यवस्था भएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

(बीबीसी)