४ जेठ २०८१, शुक्रवार

सरकारले तोकेको ज्याला नपाएपछि चिया श्रमिकहरु आन्दोलित

२ साउन २०८०, मङ्गलवार
Image

झापा, २ साउन  झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिकहरु ज्याला वृद्धि लगायतका माग राखी आन्दोलित भएका छन् ।

नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिकहरु संगठित रुपमा आन्दोलित हुनपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताउनुभयो ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त आन्दोलन घोषणा गरेको राईले बताउनुभयो । उहाँले माग बारेमा असार ५ गते नै उद्योगीहरुलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रम ऐन २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम् ज्याला रु. ५७७ पाउनु उल्लेख छ । तर, चिया बगान र प्रतिष्ठानहरुले ज्याला वापत रु.४३७ मात्र दिइरहेका छन् ।

श्रमिक संगठनहरुले नेपाल चिया उत्पादक संघ, साना किसान चिया सहकारी संघ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योग लगायतका संस्थाहरुमा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन् ।

श्रमिकहरुले चिया बगान तथा प्रतिष्ठानहरुमा एक सातासम्म कालो झण्डा राख्ने र त्यसबेलासम्म पनि मागको सुनुवाई नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताउनुभयो ।

श्रम ऐन २०७४ को दफा १० मा भएको व्यवस्था बमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनु पर्ने, अनिवार्य श्रम सम्झौता गरिनु पर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनु पर्ने श्रमिक संगठनहरुको माग रहेको छ ।

“चिया बगानका श्रमिकहरुलाई अहिले पाइरहेको ज्यालाबाट बिहान बेलुकाको छाक टार्न पनि पुग्दैन,” नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राईले भन्नुभयो–“हरेक वर्ष आन्दोलन गर्नु परिरहेको छ । आन्दोलन सुरु भएपछि आश्वासन मात्र पाइएको छ । राज्यले बनाएका कानून बमोजिम नै हामीले ज्याला पाउनु पर्छ भनिरहेका छौं ।”

दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नु पर्ने श्रमिकहरुको माग रहेको छ ।

झापामा १३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन् । झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ ।