२० वैशाख २०८१, बिहिवार

पूर्वी नाकाबाट रु. २४ अर्ब बढीको व्यापार घाटा

४ साउन २०८०, बिहिवार
Image

झापा, ४ साउन । गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । भारत, चीन, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको हो । 

मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा रु २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजारभन्दा बढी छ । 

गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट रू ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा रू २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

आर्थिक बर्ष २०७९/०८० मा काँकरभिट्टा नाका भएर विभिन्न देशबाट रु.४६ अर्ब ३६ करोड १३ लाख ३४ हजारको सामान आयात भएको छ भने रु.२२ करोड चार अर्व १८ लाख ९३ हजारको सामान निर्यात भएको छ

यस नाकाबाट गत आवमा निर्यातभन्दा बढी आयात भएको कारण काँकडभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा रु.२४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बङ्गलादेशबाट नेपाल रु. पाँच अर्ब ६५ करोड २० लाख ६५ हजारको सामान आयात भएको छ भने रु. ४७ करोड ११ लाख ५३ हजारको सामान मात्र निर्यात भएको देखिन्छ । भन्सारको तथ्याङ्कलाई अध्ययन गर्दा विगत पाँच बर्षदेखि बंगलादेशसँगको व्यापार घाटा बढ्दो देखिन्छ ।

यसैगरी, भूटानबाट रु. एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने नेपालबाट निर्यात रु. ५२ करोड दुई लाख ३६ हजार भएको कार्यालयका प्रमुख रेग्मीले बताउनुभयो । उहाँका अनुसार भुटानसँगको नेपालको व्यापार घाटा रु. एक अर्ब चार करोड ८५ लाख ९४ हजार रहेको छ । 

यसैगरी, भारतबाट सोही अवधिमा रु. ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने रु. १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपाल भारतको व्यापार घाटा रु. १३ अर्ब ३७ करोड ६३ लाख ८५ हजार भएको छ । 

उहाँले नेपालले यस नाकाबाट चीनसँगको व्यापार घाटा १०० प्रतिशत रहेको बताउनुभयो । चीनबाट रु. तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य रहेको छ ।

नेपालबाट अदुवा, अलैंची, चिया, अम्रिसो, फलाम तथा फलामका सामाग्रीहरु, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिना आदि जस्ता वस्तुहरु यी देशमा निर्यात हुँदै आएको छ । 

पूर्वी नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादनहरु, डाई फुट्सहरु, भटमास, तोरी नविरवल, जीप्सम, मार्वल, प्लाष्टिकका कच्चा पदार्थ,तरकारी, आलु, कपडालगायतका सामानहरु आयात हुने गरेका छन् । 


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।