२० वैशाख २०८१, बिहिवार

कोशीका एघार जिल्लामा फैलियो डेंगु

५ साउन २०८०, शुक्रवार
Image

झापा, ५ साउन । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण झापा, मोरङ, सुनसरी लगायत कोशी प्रदेशको एघार जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईका अनुसार सात महिना यता झापामा २४ जना, मोरङमा २५ जना र सुनसरीमा २४२ जना डेंगुका बिरामी फेला परेका छन् ।

उहाँका अनुसार यो अवधिमा कोशी प्रदेशका एघार जिल्लामा डेंगु रोगीको संख्या ३५७ पुगिसकेको छ । मधेश, पहाड र हिमाली जिल्ला सबैतिर डेंगु फैलिएको पाइएको छ ।

गर्मी र बर्खा याममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालहरुमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।

पछिल्लो साता मात्रै सुनसरीमा ५३, मोरङमा ९, झापामा ४, तेह्रथुममा ५, भोजपुरमा ४, ताप्लेजुङमा १ र खोटाङमा १ जना डेंगुका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथर बाहेक सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेंगुका बिरामीको दुई तिहाई संख्या सुनसरीमा नै छन् ।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताउनुभयो । प्रादेशिक अस्पताल भद्रपुरमा डेंगुका बिरामीको उपचार भइरहेको र डेंगु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

आम ज्वरोभन्दा निकै तीब्र ज्वरो आउनु डेंगुको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नु जस्ता लक्षणहरु डेंगुका बिरामीमा देखिन्छन् ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।