२० वैशाख २०८१, बिहिवार

चवालीस वर्षपछि ‘सुके पोखरी’ रिचार्ज गर्दै साङरुम्बाबासी

६ साउन २०८०, शनिवार
Image

पानीटार (इलाम), ६ साउन । इलामको पश्चिमी भूगोलमा रहेको साङरुम्बा गाउँको शीरमा ४४ वर्ष अघि सुकेको पोखरीलाई पानी भरेर रिचार्ज गर्न गाउँबासी जुटेका छन् ।

शनिवार विहानैदेखि झम्पल, कोदाली, बञ्चरो लगायतका घरेलु औजार बोकेका एक हुल गाउँलेले पोखरीको अवशेषलाई सरसफाई गरे । पोखरीभित्र पानी भरियोस् भनेर ढुंगाको पर्खाल लगाए । वरिपरिको डाँडामा पिपल र बरका रुख रोखे ।

साङरुम्बा गाउँ इलाम नगरपालिका वडा नं. १२ मा पर्दछ । माइखोला पश्चिमको भाग भएको हुँदा इलाम सहरबाट भने यो गाउँ अलग्गै छ । गाउँको पुरानो चिनारीको रुपमा रहेको पोखरीलाई पुरानै लयमा फर्काउन यतिखेर गाउँमा अभियान नै चलेको छ ।

‘साङरुम्बाको एउटा मात्र यही पोखरी हो, त्यो पनि २०३६ सालमा अचानक सुकेर रित्तियो,’ सुकेपोखरी सामुदायिक बन समितिका सदस्य छत्रबहादुर कटुवाल भन्नुहुन्छ–‘मैले थाहा पाउँदा नै यो पोखरी भरिभराउ थियो । पानी हाँस रमाउँथे । कमलको फुल फुल्थ्यो । भैसी आहाल खेल्थे । तर अहिले सुकेर कमिला हिँड्ने भयो ।’

कटुवाल अहिले ६४ वर्षको हुनुभयो । पोखरी सुकेपछि सुकेपछि गाउँका जोरधारा, गैरी धाप, बस्नेत कुवा लगायतका चार वटा पानीको धारा (कुवा) सुकेको उहाँले सुनाउनुभयो । 

सात हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक बनको सरकारी जग्गामा यो पोखरी छ । पोखरीको पूर्वी किनारमा देवी पाञ्चायनको मन्दिर छ । खेल मैदान छ । राई समुदायको साकेला थान छ । 

सुकेपोखरी खेल मैदान स्तरोन्नति समितिका सचिव भक्त रायाले पोखरी सरसफाई र पुनरुत्थान अभियानको अगुवाई गरिरहनु भएको छ । बुढापाकाहरुले सुकेपोखरीको महत्व र इतिहास सुनाएपछि युवाहरुमा त्यसको जगेर्ना गर्ने सोच पलाएको रायाले बताउनुभयो ।

‘साङरुम्बाको एक मात्र र सबैभन्दा उचाइमा रहेको यो पोखरी पर्यटकीय आकर्षणको केन्द्र पनि बन्न सक्ने देखिन्छ,’ उहाँले भन्नुहुन्छ–‘पोखरी मास्न हुँदैन । हामीसँग संरक्षणका लागि स्रोत छैन । अहिले श्रमदान गरिरहेका छौं । इलाम नगरपालिका र वातावरण संरक्षणसँग जोडिएका संस्थाहरुबाट केही सहयोग मिले संरक्षणमा मदत पुग्ने हामीले अपेक्षा गरेका छौं ।’

वि.सं. २०१३ सालमा पनि यो पोखरी खडेरीले सुकेको सुनेको बन समितिका सदस्य कटुवालले बताउनुभयो । पोखरीलाई स्काभेटर लगाएर फराकिलो र गहिरो बनाइएको छ । तर यसपालीको बर्खामा एकपटक पानी भरिए पनि पोखरीको पानी चुहिएर फेरि सुकेको उहाँले बताउनुभयो ।

पानी सुक्नुको खास कारण गाउँलेलाई थाहा छैन । प्लास्टिक ओछ्याएर र ढुंगाको पर्खाल लगाएर पानी अड्याउने गाउँलेको सोचाई छ । इलामको उपप्रमुख विष्णु दाहालले समेत पोखरीको पुनर्उत्थानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको उहाँले बताउनुभयो ।

पोखरीको संरक्षण गर्दा पर्यटकको आगमन हुने सम्भावना छ । बाह्रै महिना चिसो मौसम भएको ठाउँ भएकाले यहाँ गर्मी याममा होमस्टे व्यवसाय फस्टाउने सम्भावना छ । यहाँको सामुदायिक बनमा मृग, हरिण, खरायो, सालक, दुम्सी, स्याल, बाँदर, कालिज र बनकुखुरा पाइन्छ । ती पशुपंक्षीका लागि पोखरी पिउने पानीको स्रोत समेत बन्ने देखिन्छ ।