२० वैशाख २०८१, बिहिवार

पूर्वीनाकाबाट रु. छ अर्बको तरकारी र फलफूल आयात

९ साउन २०८०, मङ्गलवार
Image

झापा, ९ साउन । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु. छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा पूर्वीनाका काँकडभिट्टाबाट रु. तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु. दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको छ ।

स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ । 

कार्यालयको तथ्यांक अनुसार आव २०७९÷०८० मा पूर्वीनाका काँकडभिट्टा हुँदै रु. ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार ३१२ मेट्रिक टन प्याज, रु. ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र रु. ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला भारतबाट आयात भएको छ । प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् ।

यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट रु. ६८ करोड ५८ लाख मूल्य बराबरको ६७१ मेट्रिक टन स्याउ र रु. ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार ५३१ मेट्रिक टन भुइँकटहर नेपालले आयात गरेको छ ।

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भुइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ठाकुरका अनुसार बिगत एक वर्षमा भारतबाट रु. ३७ करोड चार लाख ६४ हजार मूल्य बराबरको सात हजार ७१८ मेट्रिक टन सुन्तला र रु. १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको ५५२ मेट्रिक टन काँचो नरिवल आयात भएको छ ।

एक वर्षमा पूर्वीनाकाबाट रु. १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिक टन अंगुर र रु. २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार ७६३ मेट्रिक टन अनार आयात भएको छ ।

पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायतका जिल्लामा किवी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फुटको व्यावसायिक रुपमा खेती हुन थालेको छ । तैपनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।