२५ वैशाख २०८१, मङ्गलवार

कृषि

एकाउन्न करोडको कोदो, साढे सात करोडको फर्सी आयात

१० साउन २०८०, बुधवार
Image

झापा, १० साउन । पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरु गाईभैंसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा भारतबाट रु. सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार ७३३ मेट्रिक टन फर्सी आयात भएको छ ।

फर्सी मात्र होइन, नेपालको हिमाली बाहेक मधेश र पहाडी जिल्लामा अत्याधिक उत्पादन हुने कोदो, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्य बस्तु अपत्यारिलो मात्रामा भारतबाट आयात हुने गरेको पाइएको छ ।

आव २०७९/०८० मा पूर्वी नाका काँकडभिट्टा भएर रु. ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार गत एक वर्षमा रु. १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वी नाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु. ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, रु. १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र रु. आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार ६०५ मेट्रिक टन सिमी भारतबाट उक्त नाका हुँदै आयात भएको ठाकुरले जानकारी दिनुभयो ।

पूर्वी नाकाबाट सोही अवधिमा रु. ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार ३१२ मेट्रिक टन प्याज, रु. ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा, रु. दुई करोड ७१ लाख ५२ हजार मूल्य बराबरको एक हजार ६९७ मेट्रिक टन घिरौला, रु. चार करोड ९८ लाख आठ हजार मूल्य बराबरको तीन हजार ११३ मेट्रिक टन लौका, रु. तीन करोड १० लाख आठ हजार मूल्य बराबरको एक हजार ९३८ मेट्रिक टन तरुल र रु. तीन करोड ४० लाख ९६ हजार मूल्य बराबरको दुई हजार १३१ मेट्रिक टन सुठुनी भारतबाट आयात भएको तथ्यांकले देखाउँछ ।

भारतबाट मधेशदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापर समेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु. ४४ लाख ८० हजार मूल्य बराबरको ११२ मेट्रिक टन फापर, रु. छ करोड ६६ लाख ६६ हजार मूल्य बराबरको दुई हजार ८३ मेट्रिक टन अम्बक र रु. ३४ लाखको पानको पात भारतबाट आयात भएको छ ।

खाद्यान्नमा चामल र फलफूलमा तरबुजाको आयात उच्च मात्रामा भइरहेको छ । कार्यालयका अनुसार सोही अवधिमा रु. १७ करोड ३१ लाख २० हजार मूल्य बराबरको चार हजार ३२८ मेट्रिक टन चामल र रु. १७ करोड २८ लाख २४ हजार मूल्य बराबरको सात हजार २०१ मेट्रिक टन तरबुजा भारतबाट आयात भएको छ ।   

पूर्वीनाका काँकडभिट्टाबाट बिगत एक वर्षमा जम्मा रु. छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको थियो । जसमा रु. तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यको ताजा तरकारी र रु. दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यको फलफूल आयात भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानहरुले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा विक्री नभएको मेचीनगरको महालक्ष्मी कृषि सहकारी संस्थाकी संस्थापक अध्यक्ष दुर्गा खतिवडाले गुनासो गर्नुभएको छ । उहाँका अनुसार संस्थाले जग्गा भाडामा लिएर सञ्चालन गरेको कृषि फर्ममा उत्पादन भएको भिन्डीले उचित बजार भाउ नपाएपछि घाटा सहेर अति कम मूल्यमा बिचौलियालाई बेच्नु परेको बताउनुभयो ।

इलाम नगरपालिकावडा नं. १२ की तुलसा रायाले यही वर्ष बारीमा फलेका करीव एक ट्रक फर्सी नबिकेपछि गाईबस्तुलाई खोले खुवाएको बताउनुभयो । “बारीमा फलेका फर्सी, इस्कुस, बिही जस्ता तरकारीहरु बिक्री हुँदैनन्,” रायाले भन्नुभयो–“त्यसै कुहिएर खेर जान दिनुभन्दा गाईवस्तुलाई खुवाउनु राम्रो हुन्छ जस्तो लाग्यो ।”


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।