२७ वैशाख २०८१, बिहिवार

विर्तामोडको एउटै वडामा डेंगीबाट दुई जनाको मृत्यु

२० साउन २०८०, शनिवार
Image

झापा, २० साउन । डेंगीको संक्रमण निकै उच्च रफ्तारमा बढिरहेको भए तापनि सरकारी निकायहरु यसको नियन्त्रणमा गम्भीर देखिएका छैनन् ।

डेंगी सङ्क्रमणबाट बिर्तामोड–५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको शनिवार साँझ मृत्यु भएको विर्तामोडबाट प्रकाशित इजलास दैनिकले जनाएको छ । तर, यसको पुष्टि नगरपालिका र स्वास्थ्य कार्यालयले अहिलेसम्म गरेका छैनन् ।

बीएन्डसी हस्पिटलको भेन्टिलेटरमा उपचार गराइरहेको अवस्थामा लावतीको मृत्यु भएको बताइएको छ । यसअघि साउनमै डेंगी सङ्क्रमणबाट बिर्तामोड–५ कै ४४ वर्षीया मदिना खातुनको मृत्यु भइसकेको छ ।

डेंगी पुष्टि भएको भोलिपल्टै उनको घरमै मृत्यु भएको परिवारले जनाएको छ । डेंगीले मृत्युको मुखमा पुग्दासम्म अस्पताल जान नसक्नुको कारण स्थानीय सरकारले खोजी गरेको छैन ।

विर्तामोडमा सयभन्दा बढी डेंगीका संक्रमित रहेको त्यहाँको अस्पतालहरुले जनाएका छन् । तर, नगरपालिका र स्वास्थ्य शाखाले कति संक्रमित छन् र तिनको उपचारको अवस्था के छ भनेर बताउन सकेका छैनन् ।

स्वास्थ्य कार्यालय झापाले दुई दिन अघिसम्म जिल्लामा २३८ जना डेंगी संक्रमित रहेको जनाएको थियो । पालिका र अस्पतालहरुसँग स्वास्थ्य कार्यालयको समन्वयको अभाव देखिएको छ ।