२७ वैशाख २०८१, बिहिवार

झापाका ३० हजार गाईभैंसीलाई लम्पी स्किनविरुद्ध खोप

२४ साउन २०८०, बुधवार
Image

झापा, २४ साउन । झापाका चार वटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुहरुमा खोप लगाउन सुरु गरिएको छ । जिल्लाका पन्ध्र वटै पालिकामा रोगको संक्रमण फैलिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भटटराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिक रुपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैसीमा खोप लगाइएको हो । 

खोप लगाउन सुरु गरिएका पालिकाहरुमा विर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे खोप मा किसानको साझेदारी फरक किसिमको छ ।

झापामा हालसम्म यो रोगबाट २० हजार ४२७ वटा पशु संक्रमित भएका छन् भने ७८५ वटा मरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा पहिला दमक नगरपालिकाले आफैंले खोप खरिद गरेर नगर क्षेत्रका किसानको गोठमै पुगेर पाँच हजार खोप लगाएको छ ।

उहाँका अनुसार विभिन्न पालिकामा सात हजार १९० खोप सरकारी तहबाट र २३ हजार ६६६ खोप निजी गाईफार्महरुले आफैं खरिद गरेर लगाइएको हो । 

विर्तामोड नगरपालिकामा किसानले प्रति खोप रु. १३० तिर्नुपर्छ भने अर्जुनधारामा रु.५० मात्र तिर्नुपर्छ । खोपको अरु लागत र प्राविधिक खर्च पालिकाहरुले व्यहोर्ने गरेका छन् ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरलाई ४०० खोप निःशुल्क उपलब्ध गराएको थियो । उक्त निःशुल्क खोप गौरादह, भद्रपुर, हल्दिबारी र कचनकवललाई १०० खोपका दरले उपलब्ध गराइएको उहाँले बताउनुभयो ।