१ असोज २०८१, मङ्गलवार

बकुल्लाको बासस्थान नमास्न नगरपालिकालाई आग्रह

२५ साउन २०८०, बिहिवार
Image

मेचीनगर, २५ साउन । मेची चरा तथा बन्यजन्तु संरक्षण समाजले मेचीनगर–१० धुलावारी चोकमा रहेका पिपल र आँपका रुखमा चराले बच्चा हुर्काइरहेको हुँदा ती रुख नमास्न नगरपालिकालाई आग्रह गरेको छ ।

समाजका अध्यक्ष देबेन्द्र खरेलसहितको टोलीले आज नगरपालिकाका उपप्रमुख मीना उप्रेती र मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाललाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाउँदै चरा र तिनको बासस्थानको संरक्षणको माग गरेको हो ।

नगरपालिका र वडा कार्यालयलाई बुझाइएको पत्रमा ती रुखहरुमा वर्षौदेखि बकुल्ला प्रजातिका चराहरुले गुँड बनाएर बर्खा याममा बच्चा कोरल्ने गरेको जानकारी गराउँदै चराले फोहोर गरेको बहानामा रुखै काट्ने र चरा लखेट्ने जस्ता वातावरण अमैत्री कुनै पनि गतिविधि नगर्न समाजले चेतावनी दिएको छ ।

केही दिन अघि विर्तामोडको एक सञ्चारमाध्यममा चराका कारण स्थानीय बासिन्दा धमाधम बिरामी फैलिन थालेको भनेर भ्रामक समाचार आएको समेत समाजले आफ्नो ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

कुन चराका कारण कति बिरामी भए र ती बिरामीको उपचार कुन अस्पतालमा भइरहेको छ भन्ने विषयमा तथ्य सार्वजनिक गर्न समेत समाजले चुनौति दिएको छ ।

अध्यक्ष खरेलका अनुसार उपप्रमुख उप्रेती र वडाध्यक्ष खनाल दुबैजनाले चरा र रुख दुबैको संरक्षण गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यस्तो छ ज्ञापन पत्र :

श्री मेचीनगर नगरपालिकाको कार्यालय
इटाभट्टा, झापा

विषय : अनुरोध गरिएको सम्बन्धमा । 

प्रस्तुत विषयमा गत २०८०-०४-१६ गते “झापा टुडे अनलाइन” मा प्रकाशित खबर अनुसार चराकै कारणले धुलाबारी मोडमा मानिसहरु ‘धमाधम सङ्क्रमित’ भएको भन्ने खबरमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

धुलावारी मोड पूर्वमा भएका पीपल तथा आँपको बोटमा यो बर्खायाममा प्रजनन तथा बच्चा कोरल्ने प्रक्रियामा केही बकुल्ला प्रजातिका चराहरुको बसोबास छ र सो विषय हाम्रो अध्ययनको विषय हुनाले त्यहाँ हामी निगरानीमा छौं । मानव जातिका निम्ति पीपलको महत्व तथा प्रकृतिका लागि चराको महत्वको विषय सर्वश्रेष्ठ प्राणी मान्छेले नबुझ्ने कुरै भएन । आफ्नो व्यवस्थापन, आफ्नो जोगाउ, आफ्नो हित, आफ्नो कल्याण कसरी गर्न सकिन्छ भन्ने विषयमा मानिस सधैं सचेत रहन सक्छ । साथै, अरु प्राणीको कुनै अनिष्ट नगरी, प्रकृति जोगाएर, पर्यावरण स्वच्छ राखेर,  वातावरण सफा बनाएर बस्न सक्ने प्राणी केवल मानिस हो । मानिसले आफ्नो कल्याणार्थ, अन्य वनस्पति तथा चराचुरुङ्गी नाश गर्नु भनेको विवेकहीनताको पराकाष्ठा हुन्छ । सचेत मानिसले विवेक र बुद्धि पु¥याएर यही प्रकृतिलाई आफूमैत्री बनाएर काम गर्नुको कुनै विकल्प छैन । 

बर्षायाम शुरु भएसँगै मेचीनगर नगरपालिका वडा नं. १० धुलावारी मोड, वडा नं.—९ धुलावारी थाना छेउ भएका केही रुखमा हाल केही चराले गुँड बनाइ बच्चा कोरल्ने अवस्थामा छन् । चराको विष्टाले गन्ध फैलिएको भए चरा र रुख नमासी त्यसको व्यवस्थापन गर्न सक्नु मान्छेको मानवीय धर्म हो । मान्छे र प्रकृति अन्यान्याश्रित सम्बन्धमा रहने हुनाले मान्छेले आफ्नो मात्र स्वार्थ हेरी काम गरे त्यो घातकसिद्ध हुन सक्छ । त्यसैले उक्त उल्लेखित स्थानहरुमा चराको विष्टाले असर पु¥याएको भए त्यसबाट मान्छे स्वयम् जोगिने या दुर्गन्धलाई न्यूनीकरणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्छ । अस्थायी रुपमा केवल ३ महिनाभित्र बच्चा कोरल्ने प्रक्रिया पूरा गरेर ती चरा अन्यत्र गएपछि ती ठाउँहरु बाँकी ९ महिना हाम्रै चौतारी र विश्रामस्थल बन्छन् र बनी आएका छन् । हाम्रो दश महिनाको चौतारी केही दिनको असहजता खप्न नसकेर मास्नु किमार्थ उचित होइन । 

‘धमाधम मान्छे सङ्क्रमित भए’ भन्ने झापा टुडे अनलाइको फुस्रो र सतही अध्ययन तथा खबर सम्प्रेषणको आशय अनुचित छ । तिनै चरा, वनस्पति र चराको विष्टाले कुन रोगको सङ्क्रमणले कति विरामी परे, क–कसलाई कुन कुन स्वास्थ्य चौकीमा उपचार गरिदैछ भन्ने कुनै सत्यतथ्य फेला नपरी समाजमा भ्रम र आतङ्क सिर्जना गर्ने कार्यको घोर निन्दा गरिन्छ । 

अत्यावश्यक अवस्थामा, सडक बीचमा पर्ने अवस्थामा, जरा सुकेर ढल्न सक्ने अवस्थामा रहेका बृक्षहरु मानव हितका लागि पन्छाउनु जायजै होला तथा चराले गुँड बनाए, विष्टा झारे, अब रुख नै काटेर सफा पार्नुपर्छ भन्ने ध्येयको कल्पना सर्वथा अनुचित छ । 

तसर्थ, महोदयले ती हाम्रा छहारी, चौतारीका रुपमा बर्षोंदेखि रहेको बृक्षलाई पंक्षीको क्षणिक क्रियाकलापको आधारमा मास्न कल्पना समेत गर्न नदिने पक्षमा रहेको हाम्रो मागलाई विधिवत् रुपमा सबै पक्षलाई जानकारी गराउन हार्दिक अपिल गर्दछौं । धन्यवाद । 

बोद्धार्थ :
१० नं. वडा कार्यालय, मेचीनगर नगरपालिका, धुलाबारी, झापा

देबेन्द्रकुमार खरेल
अध्यक्ष,  मेची चरा तथा वन्यजन्तु संरक्षण समाज, मेचीनगर—७, झापा